किसानलाई धान बेच्न धौ-धौ, व्यापारीहरू मालामाल

जनकपुरधामस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमाथि ठूला व्यापारीको धान मात्र खरिद गरिरहेको आरोप लागेको छ । कम्पनीको जनकपुरधामस्थित कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेको किसानहरूले आरोप लगाएका हुन् । 

सो कार्यालयले धनुषा र महोत्तरीका किसानले उत्पादन गरेको सोना मन्सुली धान गत २८ पुसदेखि खरिद गरिरहेको छ । कार्यालयले वडाको सिफारिसमा मात्रै किसानको धान खरिद गर्ने व्यवस्था मिलाएको छ । 

चालू आर्थिक वर्षका लागि सोना मन्सुली धानको समर्थन मूल्य २ हजार ९०२ रुपैयाँ तोकिए पनि वडाध्यक्ष र कम्पनीका कर्मचारीहरूको सेटिङमा व्यापारीहरूको धान मात्रै खरिद गरिएको किसानको आरोप छ । महोत्तरीको भंगहा नगरपालिका सीतापुरबाट धान किसान भरोसी साहले ट्याक्टर भाडामा लिएर धान लोड गरी बिक्री गर्नका लागि जनकपुरधाम आएका थिए । तर, अहिलेसम्म उनको धान बिक्री हुने कुनै छाँटकाँट छैन ।

भरोसीले भने, ‘२ सय रुपैयाँमा वडाबाट सिफारिस गराएर धान बिक्री हुने, धान बेचेर राम्रो आम्दानी हुने अपेक्षाका साथ जनकपुरधाम आएको थिएँ । तर कार्यालयले मलाई टोकन नै दिएन,’ भरोसीले भने । 

उनले आफू २७ पुसमा नै टोकन लिन जनकपुरधाम आएपनि टोकन नपाएको दुःखेसो सुनाए । ‘मलाई त्यसपछि माघ १२ गते कार्यालय आउन भनियो, १२ देखि १६ गते हुँदाहुँदै आज २० गते भइसक्यो मैले अहिलेसम्म टोकन पाएको छैन,’ भरोसीले भने ।



उनले आफू प्रतिदिन दुई हजार रुपैयाँका दरले भाडामा ट्याक्टर लिएर धान बेच्न जनकपुरधाम आएको सुनाउँदै अहिलेसम्म आफ्नो धान बिक्री नभएकोले अब ऋण लिएर नै ट्याक्टर भाडा तिर्नुपर्ने बाध्यता सिर्जना भएको सञ्चारकर्मीलाई दुःखेसो सुनाए । 

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका किसान विनोद यादवले भने, ‘कम्पनीले असली किसानलाई पाखा लगाएर विचौलियामार्फत पुग्ने व्यापारीको धान मात्रै किनिरहेको छ । असली किसानलाई यहाँ धान बेच्न यहाँ धौ-धौ परिरहेको छ, नक्कलीहरू मालामाल भएका छन् । हाम्रो धान किन्न कार्यालयले आनाकानी गरिरहेको छ ।’



धनुषाको लक्ष्मीनिया गाउँपालिका बस्ने धान किसान रामछवि यादवले खाद्य व्यवस्था कार्यालयले बहाना बनाएर आफूहरूलाई रोकेको बताए ।  

‘खाद्य व्यवस्था कार्यालयले अनेक बहाना बनाएर हामीलाई रोकेको छ । हाकिम साहेबले सिफारिस छैन भने आफूहरूले धान नकिन्ने सर्त दोहोर्याउँछन् । कार्यालयले बिचौलियालाई मात्र टोकन दिएको छ,’ उनले भने ।  

दिनभरि धान बेच्नका लागि किसान कार्यालय अगाडि लाइन लागे पनि कसैको धान बिक्री नहुने तर रात पर्नेबित्तिकै नक्कली किसानहरूको ट्याक्टरका ट्याक्टर धान बिक्री भइरहेको उनीहरूको गुनासो छ । 

यता कार्यालयका निमित्त प्रमुख उपेन्द्र लिम्बुले भने किसानको आरोप निराधार भएको दाबी गर्छन् । उनले कार्यालयले स्थानीय तहले सिफारिस गरेका किसानलाई मात्रै टोकन दिएर धान खरिद गरिरहेको बताए ।

‘वडा कार्यालयबाट सिफारिस लिएर केही व्यापारी धान बिक्री गर्न आएको कुरा सत्य हुन सक्छ, तर आफूहरूले कसरी उनी किसान छैनन् भन्ने ठम्याउने ?,’ उनले प्रश्न गरे ।

पछिल्ला वर्षहरूमा प्रतिकिसान १ सय क्विन्टल धान खरिद गरेको कार्यालयले यस वर्ष भने प्रतिकिसान ४० क्विन्टल धान मात्र खरिद गरिरहेको छ । कार्यालयले किसानबाट चालू आर्थिक वर्षमा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । 

१९ माघसम्ममा खाद्य व्यवस्था कार्यालय जनकपुरले किसानको ९ हजार ८ सय क्विन्टल धान खरिद गरिसकेको जनाएको छ । 

  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १२:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया