नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन १८ र १९ चैतमा

लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८ र १९ चैतमा हुने भएको छ । गत साता बसेको केन्द्रीय समिति, सचिवालयको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन १८-१९ चैतमा गर्ने निर्णय गरेको हो ।

संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य-सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी तोकिएको छ ।

अधिकांश प्रतिनिधिहरूलाई पायक पर्ने गरी यथाशीघ्र नै अधिवेशनस्थलको टुंगो लगाउने संघका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा. नेपालले बताए ।

नेपाली लेखक संघको विधान, २०६४ लाई समय सापेक्ष बनाउन विधान संशोधनका लागि संघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र नेपाली लेखक संघको मुखपत्र (लेखक) प्रकाशन गर्नका लागि संघका महासचिव डा. रत्नमणि नेपाल प्रधानसम्पादक रहने गरी ७ सदस्यीय सम्पादक मण्डल गठन गरिएको संघका अध्यक्ष श्रवण मुकारुङले बताए ।

सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको थियो । 





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १६:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया