बिहानैदेखि खुमलटारमा माओवादी नेताहरू, नेपालसहित संयुक्त निर्णय लिने तयारी
फाइल फाेटाे

प्रतिनिधिसभाको बिहीबार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्दैछ । 

यसअघिको बैठकमा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे सैद्धान्तिक छलफल गर्ने कार्यसूची यसअघि नै तय भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसिसी सम्झौता पारित गर्न दौडधुप गरिरहेका छन् । 

सत्तारूढ घटक माओवादी केन्द्र एमसिसीको विरुद्धमा उत्रिएसँगै सरकारमा बस्न नैतिक रूपमै असजिलो परेको छ । बिहीबार बैठक स्थगित भएपछि दिनभर नेताहरू दौडधुपमा थिए । लामो समयको संवादहीनतालाई तोड्दै प्रचण्डसहितका माओवादी नेताहरूले ओलीसँग भेट गरेका थिए । 

माओवादी केन्द्रका नेताहरू आज बिहानैबाट छलफलमा जुटेका छन् । अध्यक्ष प्रचण्डले सरकारमा बस्ने/नबस्नेबारे निर्णय लिनका लागि नेताहरूलाई खुमलटार बोलाएर छलफल अघि बढाएका हुन् । विशेषतः प्रधानमन्त्री देउवाले बिहीबार साँझ एमाले नेताहरूसँग बालुवाटारमा लामो छलफल गरेपछि माओवादीका नेताहरू थप गृहकार्यका लागि जुटेका हुन् । 

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा पनि बस्ने सडकमा विरोधमा पनि उत्रने भन्दै आलोचना बढेको छ । माओवादी निकट नेताहरूका अनुसार एमसिसी फेल हुँदासम्म सरकारबाट नबाहिरिनेगरी मुडमा नेताहरू पुगेका छन् । उता, देउवाले भने एमसिसीको पक्ष वा विपक्षमा चाँडो नखुले एमालेसँगको सहयात्रा अघि बढाउने चेतावनी दिइरहेका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हिजै धनगढी पुगेका थिए । त्यहाँ आयोजित युवा संघ र महिला संघको कार्यक्रममा सहभागी भएका थिए । आज भने पार्टीको बुद्धिजीवी परिषदको कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम थियो । 



तर, उनी पूर्वनिर्धारित कार्यक्रम छाडेर खुमलटारमा आयोजित कार्यक्रमका लागि फर्कन लागेका छन । यसका लागि माओवादी नेताहरू खुमलटारमा नेपाललाई कुरेर संयुक्त निर्णय लिनेगरी बसेको बुझिएको छ ।



  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १२:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया