गगनलाई गिरिराजमणिको जवाफ : त्यो मन्त्रिपरिषद् बैठकमा म उपस्थित थिइनँ

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले कांग्रेस सांसद गगन थापालाई धन्यवाद दिएका छन । उनले आफू यसअघि एमसिसीबारे निर्णय हुँदा आफू मन्त्री भएको विषय सम्झाइदिएकोमा धन्यवाद दिएका हुन् । 

आजै बसेको पहिलो बैठकमा थापाले पोखरेलको नाम लिएर यसअघिको सरकारमा भएको भन्दै राष्ट्रघाती नभन्न आग्रह गरेका थिए । ‘म नाम लिन चाहन्नथेँ, तर नाम लिनुपर्छ । माननीय गिरिराजमणि पोखरेलले यहाँ उभिएर यो सम्झौता राष्ट्रघाती भन्नुभयो । तर, २०७४ साल साउन १९ गतेको क्याबिनेटको उपस्थिति पल्टाएर हेरौँ, त्यतिबेला माननीय पोखरेल सोही क्याबिनेटको मन्त्री हुनुहुन्थ्यो,’ थापाले भनेका थिए । 

उनलाई धन्यवाद दिँदै पोखरेलले दोस्रो बैठकमा भने, ‘एमसिसी असंवैधानिक छ र यो राष्ट्रघात हो भन्ने कुरा जनस्तरमा स्थापित सच्चाइ हो । म माननीय गगन थापाज्यूलाई धन्यवाद दिन चाहन्छु गएको सरकारमा म रहेको थिएँ । र, त्यो विषय पनि उहाँले उठाउनुभएको छ । जुन मन्त्रिपरिषदको बैठकले निर्णय गर्यो, त्यो बैठकमा म थिइनँ । यो कुरा सदनलाई पनि जानकारी गराउन चाहन्छु ।’

उनले आज एमसिसी पारित नगर्न आग्रह गरे । ‘यदि यो व्याख्यात्मक घोषणाप्रति इमानदार छौँ भने सदनबाट आज पारित नगरौँ । व्यापक छलफल गरौँ । त्यसको जगमा सरकारले अमेरिका र एमसिएसँग छलफल गरौँ । उद्यारो घोषणाबाट एमसिसी पारित हुँदैन,’ उनले भनेका छन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया