‘संगीतमा लागेर के गुमाउनुभयो ?’ नवीन के भट्टराईको उत्तर– ‘फिजिक्स र म्याथ’

सानैदेखि म फरक स्वभावको थिएँ । धेरै सोच्ने, जुनसुकै कुराको अस्तित्व र सिर्जनाबारे सोचेर टोलाउने ।

यो संसार कसरी बन्यो, कसले सिर्जना गर्याे, किन गर्याे होला । यस्तयस्तै कुरा धेरै सोच्थेँ । सोच्दासोच्दै यति गहिराइमा पुगिसकेको हुन्थेँ कि पछि मैले केका बारेमा सोचिरहेको थिएँ भन्ने नै बिर्सन्थेँ । मलाई नयाँनयाँ विषयमा खोजतलास गर्न मन लाग्थ्यो । 

पृथ्वी र जीवजन्तुको अस्तित्व र सिर्जनाबारे धेरै कौतुहल जाग्थ्यो । म हरेक कुरामा तर्क र प्रमाण खोज्ने प्रयास गर्थें । संसारमा जे–जति हुन्छ र जस्तो हुन्छ, यो सबै पूर्वनिर्धारित हुन्छ जस्तो लाग्थ्यो । हरेक कुरामा किन भयो र कसरी भयो भनेर प्रश्न गर्थें । पछिपछि त मेरा प्रश्नले मान्छेलाई झर्काे लाग्न थालेको थियो । त्यसपछि, आफैँसँग प्रश्न सोध्न थालेँ । हरेक कुरामा तर्क गर्न मन लाग्थ्यो । 

सानोमा आफ्ना केही प्रश्नको उत्तर विज्ञान विषय पढ्दा पाउँथेँ । कक्षाकोठामा पनि गणित र विज्ञानको पिरियडमा ध्यानपूर्वक कान चनाखो पारेर बस्थेँ । विस्तारै विज्ञान मेरो सबैभन्दा मनपर्ने विषय भयो । विज्ञान र गणित सबैभन्दा मनपर्ने विषय भए । गणित र विज्ञानमा मरो सधैँ धेरै नम्बर आउँथ्यो । 

मेरो मनमा उब्जने धेरैजसो प्रश्नको उत्तर विज्ञानमा पाइने भएकाले एसएलसीपछि विज्ञान नै पढ्छु भन्ने सोचिसकेको थिएँ । आफ्नो योजनाअनुरुप नै मैले इन्टरमा विज्ञान पढेँ । 

इन्टरमा फिजिक्स र म्याथ गहिराइमा पढ्न पाएँ । मलाई फिजिक्स अझ मनपर्न थाल्यो । फिजिक्स मात्र होइन, ज्योतिशशास्त्र पनि उत्तिकै मनपर्थ्यो । 



पछि म पूर्ण रुपमा संगीतमा डुब्न थालेँ । मलाई लाग्छ, मेरो सोच्ने बानीले पनि म आज जे भएँ, त्यसमा धेरै सहयोग गरेको छ । 

संगीत गर्न थालेपछि पनि फिजिक्स र म्याथलाई धेरै मिस गर्थें । 



म अहिले पनि समय मिल्दा नेटमा पढिरहेको हुन्छु । म अहिले पनि सानो छँदा सोच्ने प्रश्नहरुबारे सोचिरहेको हुन्छु । धेरै प्रश्नको उत्तर मैले पाएँ, तर केही कौतुहल भने अहिले पनि बाँकी नै छन् । आजभोलि जीवन र जगतको अस्तित्वका बारेमा सोच्छु । 

आज म जे भएँ, त्यसमा पूर्णतया खुसी छु । संगीतमा लागेर धेरै कुरा पाएको छु । तर, मलाई कसैले ‘संगीतमा लागेर के गुमाउनुभयो ?’ भनेर सोध्यो भने मेरो उत्तर ‘फिजिक्स र म्याथ’ हुन्छ होला ।

र, कसैले मलाई आज म गायक नभएको भए के हुन्थेँ भनेर सोध्यो भने मेरो उत्तर ‘इन्जिनियर’ या ‘म्याथमेटिसियन’ हुन्छ होला । 
 

  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १७:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया