काठमाडौं– बल्खु घर भएकी सुनिता सापकोटालाई कामले रत्नपार्क आउँदा कुनै समस्या भएन । तर, बल्खु फर्किन उनले काठमाडौं मलअगाडि करिब २० मिनेट गाडी कुरिन् । बस र माइक्रो दुवै आइरहेका पनि थिए । तर, ती गाडी उनको इशारामा रोकिएनन् ।
‘पहिले त रोकिन्थ्यो, आज किन हो रोकिएन,’ उनले भनिन्, ‘कहाँ रोकिने रहेछ थाहा पनि छैन ।’ कहिलेकाहीँ मात्र बजार क्षेत्र (रत्नपार्क) आउने गरेकी सुनितालाई ‘पिक एन्ड ड्रप’ योजनाबारे थाहा भएन । त्यसैले उनले माइक्रो कुर्न २० मिनेट खर्चिनुपर्यो ।
सोमबार बिहान १० बजेतिर पर्यटन बोर्डछेउको सडक पेटीमा २३ नम्बर रुटका सवारी कुर्नेको लामै लाइन थियो । भिडमा धेरैजसो कलेज पढ्ने विद्यार्थी थिए । उनीहरूमध्ये एकले भने, ‘देख्दादेख्दै खाली गाडी गयो, अहिले आउँदै आएन ।’
१० मिनेटपछि काभ्रेस्थलीबाट आएको बसको ढोका चढ्ने र ओर्लिने यात्रुको चापले साँघुरो बन्यो । युवा जमात भिड छिचोलेरै बस चढे । तर, केही प्रौढ महिलाले बस चढ्न ठूलै संर्घष गर्नुपर्यो ।
बिहान ८ देखि १० बजेसम्मको समय सडकमा ‘पिक आवर’ मानिन्छ । यो समयमा सार्वजनिक यातायातमा पनि यात्रुको चाप ज्यादा हुन्छ । तर, पिक एन्ड ड्रप योजना लागू भएसँगै कुनै वेला रित्तै र कुनै वेला खचाखच भएर यात्रा गर्नु परेको सवारी चालक बताउँछन् ।
‘एक छिन रोकेर मान्छे चढाउन पाए पो सबै बसभरि मान्छे हुन्थे, रत्नपार्क–माछापोखरी माइक्रो चलाउँदै आएका चालक राजु लामाले भने, ‘एकैछिन पनि रोक्न दिँदैनन्, कुनैवेला त रित्तै कुदाउनुपर्छ, बिहान–बेलुका खुट्टा टेक्ने ठाउँ हुन्न ।’
काठमाडाैं महानगरपालिकाले पुस १ गतेदेखि लागू गरेको ‘पिक एन्ड ड्रप’ योजनाले जामको मार खेपिरहेका यात्रुलाई झन् समस्यामा पारेको देखिएको छ । ट्राफिक जाम र वातावरण प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले महानगरले टुँडिखेलआसपासका क्षेत्रमा सार्वजनिक सवारी रोकेर राख्न नपाउने नियम बनाएको हो । महानगरको योजनालाई ट्राफिक प्रहरी महाशाखा र सडक व्यवस्था विभागले पनि सहयोग गरेको छ ।
सवारीचालक र सर्वसाधारणलाई केही दिन अन्योल भए पनि बिस्तारै बानी पर्दै जाने ट्राफिक महाशाखाले बताएको छ । महाशाखाका डिएसपी कृष्ण भट्टका अनुसार सर्वसाधारणको जानकारीका लागि ठाउँठाउँमा सूचना बोर्ड राखिएको र रेडियो, टेलिभिजनबाट निरन्तर खबर गरिएको छ ।
‘सवारी र यात्रु व्यवस्थापनमा केही चुनौती देखिए पनि ट्राफिक जामको समस्या समाधान भएको छ,’ डिएसपी भट्टले भने, ‘सर्वसाधारणले पनि योजनामा सहभागी भएर सहयोग गरे प्रभावकारीता बढ्छ ।’
पहिलो चरण फ्लेक्स बोर्डमार्फत जानकारी दिएको र सबै सञ्चारमाध्यमबाट पनि जानकारी दिने क्रम जारी रहेको उनले बताए । उनले भने, ‘अहिले योजना परीक्षण गरिएको हो, प्रभावकारी हुनेबित्तिकै महानगरले अझ व्यापक जानकारी दिनेछ ।’
‘पिक एन्ड ड्रप’ योजनाले कुनै पनि समस्यामा नपार्ने भट्ट दाबी गर्छन् । उनका अनुसार कुनै पनि योजना लागू गर्दा पनि आजको भोलि नै सबै काम ठीक हुँदैन । प्रभावकारी कार्यान्वयन हुन समय लाग्छ । एकपटक बानी परेपछि फेरि पहिलेजस्तै सहज वातावरण बन्ने भट्ट दाबी गर्छन् ।
आफू जहाँ बस्यो त्यहीँबाट गाडी चढ्न पाए सर्वसाधारण खुसी हुने बताउँदै उनी भन्छन्, ‘हामी नेपालीको बानी नै यही छ आफ्नो ढोकाबाटै वा उभिएको ठाउँबाट यात्रा गर्न पाए खुसी हुन्छौँ,’ उनले भने, ‘केही समय हिँडेर धेरैको समस्या समाधान हुन्छ भने हिँड्नैपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।