जीवनकाे गैरआख्यान ‘क्लोज-अप’सार्वजनिक

नेपाली चलचित्रका केही आयाम र पात्रमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिक भएको हो । 

पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रूपमा सार्वजनिक गरे ।

निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गर्दै ‘क्लोज-अप’ एउटा राम्रो दस्तावेज भएको बताए । उनले नेपाली फिल्मलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । 

निर्देशक शलभले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरूका अनुभवलाई समेट्न लेखकलाई सुझाव पनि दिए ।

अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुरा इन्टरनेटबाट थाहा पाउन सकिने भए पनि किताबमाजस्तो विश्वास आफूलाई अरूमा नलाग्ने बताइन्। 



निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज-अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । 

चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज-अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा व्याख्या गर्दै नेपाली फिल्म पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको बताए ।



लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरू समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरू पुस्तक पनि क्रमशः लेख्दै जाने बताए ।

ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । 

युरोपका विभिन्न देश र थाइल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशमा पनि सार्वजनिक गर्ने तयारी गरेकाे जनाइएकाे छ ।

५९९ रुपैयाँ मूल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजनमार्फत् संसारभर उपलब्ध हुने जनाइएकाे छ ।

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ९:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया