खिलबहादुर तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको अभिनयमा बनेको मन्त्रमा नेपालको हिमाली क्षेत्रको भेषभुषा र लवज हेर्न पाइन्छ ।
प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात मल्ल र दीया पुनको अलावा बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको छ ।
ट्रेलर रिलिज कार्यक्रममा अभिनेता मल्लले चलचित्र छायांकनको समयमा निकै गाह्रो भए पनि चलचित्र राम्रो बनेको बताए । आफूले चलचित्रको लागि घोडचढी सिकेको बताए ।
उनले भने,‘चलचित्रमा घोडा दौडको दृश्य भएकाले छायांकनभन्दा अगाडि केही दिन घोडा चलाउन सिकेको थिएँ । तर, मेरो भागमा परेको घोडा निकै अटेरी रहेछ । राम्रो बाटो छाडेर भीर–भीर मात्र हिँड्थ्यो । केही पटक लडेँ पनि । पछि त्यही घोडाले मलाई पहिलो बनायो ।'
चलचित्रका निर्देशक खिलबहादुर तामाङले चलचित्र मौलिक नेपाली चलचित्र बनेको बताए । आउँदो १६ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्रको छायांकन ५१०० मिटरभन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा गरिएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।