निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै आकांक्षीहरू चुनावी प्रचारमा

कैलालीका स्थानीय तहमा उम्मेदवार बन्नेहरूको चर्चा सुरु भएको छ । दलहरूले आफ्नो उम्मेदवारीको टुङ्गो नलगाए पनि उम्मेदवारीका आकांक्षीहरू भने सक्रिय हुन थालेका हुन् ।

आकांक्षीहरू प्रचारप्रचारमा जुटेका छन् । केन्द्रमा सत्तारूढ दलहरूबीच गठबन्धन हुने नहुने चर्चा चलिरहेको बेला सुदूरपश्चिमको कुनै पनि जिल्लामा गठबन्धन नहुने सत्तारूढ दल कांग्रेसले दावी गर्दै आएको छ । 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै जिल्लामा आकांक्षी उम्मेदवारमा थप उत्साह थपिएको हो ।

कैलालीमा स्थानीय तह निर्वाचनका लागि गठबन्धनभित्र पनि कांग्रेस एक्लै निर्वाचनमा होमिए दुई तिहाइ जित्ने दाबी गर्दै आइरहेको छ । 

नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्टले भने, ‘हामी गठबन्धन गर्ने मनसायमा छैनौँ । हामी एक्लै लड्दा पनि दुई तिहाइ ल्याउने पक्का छ ।’

यसअघि २०७४ सालको निर्वाचनमा कैलालीका धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र बर्दगोरीया गाउँपालिकामा प्रमुखमा कांग्रेस विजयी भएको थियो । 



त्यस्तै, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र धनगढी उपमहानगरपालिका उपप्रमुखमा कांग्रेस विजयी भएको थियो ।
 
कांग्रेसको अवस्था निकै राम्रो भएको भन्दै एक्लै निर्वाचन लड्दा पनि १३ स्थानीय तहमा स्पष्ट रूपले दुई तिहाइ स्थानीय तह जित हासिल गर्ने दाबी गरेको छ ।
 
माओवादी केन्द्रले पनि एक्लै निर्वाचन लड्ने अवस्थामा १३ मध्ये ८ स्थानीय तहमा निर्वाचन जित्ने दाबी गरेको छ । 

यसअघि माओवादीले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा प्रमुख जितेको थियो भने कैलारी गाउँपालिकामा उपप्रमुखमा विजयी भएको थियो । कैलालीका अधिकांश स्थानीय तहमा माओवादी दोस्रो भएको थियो ।



एमालेबाट उपाध्यक्ष निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी मोहन्याल गाउँपालिकाकी उपप्रमुख पनि अहिले माओवादीमा प्रवेश गरेकी छन् । 

माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि ज्ञवालीले अहिलेकै अवस्थामा कैलालीका ८ स्थानीय तहमा जित्न सकिने दाबी गरेका छन् । 

उनले कैलालीको टिकापुर, भजनी, कैलारी, गौरीगङ्गा, घोडाघोडी, चुरे र मोहन्यालमा एक्लै पनि जित्न दावी गरेका हुन् ।

एकीकृत समाजवादी पार्टीले पनि कैलालीमा तल्लो तहसम्मै गठबन्धन हुने दाबी गरेको छ । 

‘गठबन्धन हुन्छ । कैलालीमा वडासम्मै गठबन्धन हुन्छ’, एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले भने ।

कैलालीका १३ स्थानीय तहमध्ये एमाले हुँदा जितेका स्थानीय तहमा आफ्नो पार्टीले दाबी गर्ने उनले बताएका छन् । 

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीमा गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिकाका उपप्रमुख तथा मोहन्याल गाउँपालिकाकी उपाध्यक्षले सनाखत गरेका थिए । 

अहिले मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष माओवादीमा लागे पनि कैलालीमा दुई स्थानीय तहका दुई उपप्रमुख मात्रै एकीकृत समाजवादीमा देखिएका छन् ।

एमालेले यसअघि कैलालीका ७ स्थानीय तहमा प्रमुख र ७ स्थानीय तहमा उपप्रमुख जितेको थियो । 

प्रमुखमा लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, चुरे गाउँपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका प्रमुखमा एमाले विजयी भएको थियो ।

उपप्रमुखमा भने टीकापुरमा बाहेक अन्य छवटा स्थानीय तहमा एमाले विजयी भएको थियो । भजनीमा माओवादीबाट निर्वाचित उपप्रमुख पनि नेकपाको निरन्तरता भन्दै एमालेमै रहेकी थिइन् । 

कैलालीका आधाभन्दा बढी स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा विजयी भएको एमालेले अहिलेको स्थानीय तह निर्वाचनमा पनि यस्तै नतिजा आउने दाबी गरेको छ ।

धनगढी उपमहानगरपालिकाबाट यस अघिको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका व्यवसायी गोपाल हमाल पनि यस पटक पुनः निर्वाचनमा होमिएका छन्।

उनले सयाैं समर्थकका बीच फागुन १९ गते उम्मेदवारी घोषणा गरेसँगै  निरन्तर प्रचारमा जुटेका छन् । 

धनगढीको एलएनचोकमा सचिवालय नै खोलेर हमालले दैनिकजसो विभिन्न वडामा पुगेर छलफल चलाउने गरेका छन् । 

यस अघिको चुनावमा २७ सय मत अन्तरले पराजित भएका हमाल यस पटक आफु निर्वाचित हुने दावी गर्दै आएका छन् । 

यसअघिको निर्वाचनमा हमाल नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर बडसँग पराजित भएका हुन् । त्यसबेला वडले १४३२४ मत ल्याउँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए । 
 

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ११:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया