पूर्वसांसद र गाउँपालिका अध्यक्षपछि एमाले सिन्धुपाल्चाेकका जिल्ला सदस्यले छाडे पार्टी
प्रचण्ड, नरायणकाजी र वर्षमानले गरे स्वागत

नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य दिलीपराज गिरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

गिरी शुक्रबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगी पार्टी प्रवेश गरेका हुन् । 

उनलाई अध्यक्ष प्रचण्ड, माओवादी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतले पार्टीमा स्वागत गरे । 

एमाले सिन्धुपाल्चोकमा पछिल्लो समय एकपछि अर्का प्रभावशाली नेताहरुले पार्टी छाड्ने क्रम बढेको छ । यसअघि बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले पनि एमाले छाडेका थिए ।

त्यस्तै, पूर्वसांसद समेत रहेका सुवास कर्माचार्य पनि एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । 

उनीहरूसँगै जिल्ला तहका नेता पनि अन्य दलमा पार्टी प्रवेश गर्न थालेका छन् । 



एमाले जिल्ला सदस्य गिरीलाई लिएर सिन्धुपाल्चोकका दुई युवा नेता युवराज दुलाल शरद र माधव सापकोटा सुबोध खुमलटार पुगेका थिए । 

बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रीय सदस्य दुलालले यसअघि पनि एमाले र राप्रपाका केही सदस्यहरूलाई खुमलटार पुर्‍याएर माओवादी प्रवेश गराएका थिए ।



स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरू आन्तरिक तयारीमा दौडधूप गरिरहेका छन् । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित भएका दुलाल निर्वाचन क्षेत्रमा पार्टी प्रवेश लगायतका काममा सक्रिय छन् । 

एक महिनासम्म चलेको एमाले नवौं अधिवेशनमा अध्यक्षका आकांक्षी बढेपछि पार्टीमा असन्तुष्टि चुलिएको थियो । 

आकांक्षीमध्येका बेलीका अध्यक्ष केदार क्षेत्रीले त पार्टी नै छाडेका थिए । सुवास कर्माचार्यले नेकपा एस रोज्दा पनि एमाले सिन्धुपाल्चोकभित्र तरङ्ग छाएको थियो । 

एमालेमा हुँदा उनी अमृत बोहरा निकट मानिन्थे । सिन्धुपाल्चोकको आन्तरिक पार्टी ‘कलह’ ले पछिल्लो समय एमालेका प्रभावशाली नेताहरूले पार्टी छाड्न थालेको चर्चा हुन थालेको छ ।

  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १२:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया