दर्शक अलमल्याउने ‘साथीको कथा’

‘एउटा तस्बिर, जसले बाबु र सुमीको नाता गाँसिदिन्छ ।’

कलेजमा सधैँ देखिरहने सुमित्रा कार्कीसँग बोल्ने बहाना खोजिरहेको बाबुलाल मैनालीले एकदिन उनको तस्बिर फेला पार्छ । त्यो तस्बिर उसलाई सुमीसम्म पुर्याउने पुल बन्छ ।

करिडोरमा भेटिएको तस्बिरले सुमी र बाबुलाई साथी बनाउँछ । तस्बिरसँगै जोडिएका नाताले नाटकलाई गति प्रदान गर्छन् । सुमीलाई सधैँ टाढाबाट मात्रै देखेर मोहित भएको बाबु सुमीको संगतमा परेपछि विभिन्न सम्बन्धका जालोले जेलिँदै जान्छ ।

मण्डला थिएटरमा शनिबारदेखि भारतीय नाटककार विजय तेन्दुलकरको नाटक ‘मित्राची गोष्ट’को नेपाली अनुवाद ‘साथीको कथा’ मञ्चन भइरहेको छ । सागर चन्दको अनुवादमा रेनुका कार्कीले नाटकको निर्देशन गरेकी छिन् । 



मण्डलामा नाटक हेरिरहँदा नाटकको केन्द्रीय कथा छुट्याउन दर्शकलाई मुस्किल पर्छ । समलिंगी विषयमा केन्द्रित भनिए पनि नाटकमा समलैंगिकताको विषयभन्दा मित्रताको विषयले प्रधानता पाएको छ ।

मित्रताको वरिपरि नै नाटकको मूल विषय भनिएको समलैंगिकता घुमेको छ । त्यसो त, नाटकको नाम पनि साथीको कथा भएकाले प्रधान कथामा मित्रता हाबी भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।



नाटकमा समलिंगीको भूमिकामा देखा पर्ने सुमी (सुष्मा निरौला) ले आफ्नो साथी बाबुलाई आफू समलिंगी भएको बताइरहँदा उसले समलैंगिकतालाई सामान्य रुपमा लिएको देखिन्छ । 

सन् १९८१ मा नाटक लेखिँदा समलैंगिकतालाई कसरी लिइन्थ्यो ? आज नेपाली समाजमा समलिंगीलाई कसरी लिइन्छ ? नाटकमा देखाइएजस्तो सहजै समलिंगीहरु आफ्नो पहिचान खुलाउन सक्छन् त ? यी प्रश्नमा भने निर्देशक चुकेकी छिन् ।

यसबाहेक, नाटकभित्रै अर्को सानो कथा छ, जसले सुमी र नमा (शारदा अधिकारी) लाई जोड्ने सेतुको काम गरेको छ । सुमी र नमालाई जोड्न प्रस्तुत गरिएको सानो कथाको भार धेरै हुँदा दर्शकलाई कथासार छुट्याउन कठिन हुन्छ ।

कुनै ठूलो घटनाभन्दा पनि स–साना संवादको माध्यमबाट अगाडि बढ्ने नाटकमा पात्रहरुको अभिनय नै महत्वपूर्ण मानिन्छ । तर, नाटकमा सूत्रधार तथा बाबुको भूमिकामा देखिएका आयुष प्याकुरेल (बाबु) को अभिनयले दर्शकलाई सूत्रधार र बाबु पात्र छुट्याउन सकस हुन्छ । निर्देशकीय चातुर्य प्रयोग गर्दै यी सूत्रधार र बाबुलाई छुट्याउन सकेको भए नाटक दर्शकका लागि सहज बन्ने थियो कि ?

नाटकमा थोरै दृश्यमा देखिएर पनि कथालाई मोड्न सक्ने दलवी (सूर्यमान लिम्बू) को भूमिकाले पनि दर्शकलाई अन्योलमा पार्न सक्छ ।

सुमी, बाबु, नमा, दलवी र पाण्डुको मित्रतामा जेलिएको समलैंगिकता छुट्याउन दर्शकलाई केही कठिन भए पनि समलिंगीको विषयमा नाटक प्रस्तुत गरिनु नै प्रशंसायोग्य छ । 
 

  • प्रकाशित मिति : पुस ८, २०७५ आइतबार १७:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया