धुलाम्य चौरमा बसेर परीक्षा दिन बाध्य कलिला बालबालिका

डोटीको भगवती आधारभूत विद्यालयका विद्यार्थी धुलोले भरिएको खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन् । डोटीको शिखर नगरपालिका ११ मल्लीसातमा पर्ने सो विद्यालयमा पर्याप्त फर्निचरको व्यवस्था नहुँदा सो समस्या आएको हो । 

नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई खुला चौरमा भुइँमै राखेर परीक्षा लिने गरिएको छ । कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थीका लागि पनि पर्याप्त डेस्क नहुँदा सान बालबालिका खुट्टामा नै कापी राखेर परीक्षा दिन बाध्य भएका हुन् । 

उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत छन् । अहिले विद्यालयमा वार्षिक परीक्षा चलिरहेको छ । नेताहरु चुनावलक्षित कार्यक्रम लिएर गाउँमा पुगे पनि विद्यालयको स्तर उन्नतिका भने कसैको ध्यान गएको छैन । उनीहरुले मीठो आश्वासन दिने गरेको तर, व्यवहारमा लागू हुन नसकेको स्थानीय बताउँछन् । 

शिखर नगरपालिकाको वडा नं ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावि बनाउने भनेर बेला–बेलामा निरीक्षणका नगरपालिकाले आश्वासन दिएको छ । तर, नगरपालिकाका प्रमुख सीताराम जोशीको ५ वर्षे कार्यकाल बित्नै लाग्दासमेत विद्यालयका लागि कुनै काम भएको छैन । 

अहिले उक्त गाउँका ५० प्रतिशत भन्दा बढी युवा गाउँमा रहेको विद्यालयमा ८ पास गरी भारत जाने गरेका छन् । युवालाई स्वदेशमै सिर्जनात्मक तालिम सिकाई स्थानीय क्षेत्रमै उद्यमी बनाउनु त परैको कुरा नगरपालिकाले विद्यालयको स्तर उन्नतिमा ध्यान पुर्याएको छैन ।

भगवती आधारभूत विद्यालयमा नर्सरीदेखि आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । २०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ९ जना शिक्षक र करिब ३ सयजना विद्यार्थी छन् । 



विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन् । 



  • प्रकाशित मिति : वैशाख २, २०७९ शुक्रबार १८:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया