सिरहा : एसईई परीक्षामा तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थी निष्कासित
फाइल तस्वीर

सिरहामा सञ्चालित एसईई अन्तर्गतको दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्कासन गरिएको छ । परीक्षामा चिट, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षा अमर्यादित कार्य गरेकाले उनीहरुलाई निस्कासन गरिएको हो ।  

सञ्चारकर्मी सहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरूले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जनाए । परीक्षालाई मर्यादा विपरीत कार्य गरेको भन्दै बस्तिपुर मावि लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए । 

जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले  मोवाइल ह्वाट्सएप, फोटोकपी र चिट प्रयोग गरेकाले उनीहरुलाई आजको परीक्षाबाट निस्कासन गरेको जनाए । परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनै वटा विद्यालका केन्द्राअध्यक्ष भोलिबाट परिवर्तन गरिनेसमेत कवाडीले जानकारी दिए । उनीहरुलाई आजको परीक्षाबाट मात्र निस्कासन गरिएको हो । 

यता माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीका केन्द्राध्याक्ष राजेन्द्र प्रसाद यादवले परीक्षामा सुरक्षाकर्मीहरुले नै चिट पुर्याउने कार्य गरेर परीक्षालाई अमर्यादित बनाएको आरोप लगाए । उनले भने, ‘एक जना प्रहरीबाट हामीले चि६ खोसेर त्यहाँ कार्यरत कमाण्डरलाई चिट बुझायौं, तर त्यसको केही बेरमै फेरि चिट कक्षाकोठामा पुग्यो।’ उनले हामीले परीक्षा मर्यादित बनाउन खोज्दा खोज्दै पनि सुरक्षाकर्मीकै असहयोगले यस्तो भएको हो ।

बस्तिपुर मावि परीक्षा केन्द्रमा देव आइडल आवासीय विद्यालय लहान, लिटिलस्टार आवासीय विद्यालय, न्यू मनकामना आवासीय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी माविका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् । 

त्यसैगरी, गोलबजार नपा ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेर चिट बनेको पाईएको छ। यस परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको बताइएको छ। यस सम्वन्धमा छानविन गरिने सम्वन्धित निकायले जनाएको छ ।



यस केन्द्रमा धनगढीमाई नपा १० का सुनगाभा आवासीय मावि, नमुना प्राविधिक मावि गोलबजार, जेम्स अंग्रेजी बोर्डिङ स्कूल, शुभ श्री आवासीय मावि र आइजेभिएम आवासीय माविको परीक्षा केन्द्र रहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निस्कासन भएको र केन्द्राध्याक्ष परिवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारी सहितको निर्देशन आएको जनाएको छ । यसवर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।



  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार १८:५३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया