आफ्नो कार्यकालमा 'जनकपुर त फेरिएछ' भन्ने महसूस हुनेगरी काम गरेको लालकिशोरको दाबी

सत्तारूढ गठबन्धनका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार लालकिशोर साहले आफ्नो प्रथम कार्यकालमा विकासको गतिमा जनकपुरधामले फड्को मारेको दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना विभिन्न उपलब्धिहरू सुनाउँदै साहले आफ्नो प्रथम कार्यकालमा जनकपुरधामको विभिन्न क्षेत्रमा आमूल परिवर्तन गरेको दाबी गरेका हुन् ।

साहले २० वर्षदेखिको जनप्रतिनिधि विहीनताको अवस्थापछि २०७४ सालमा  निर्वाचित भएलगत्तै जनताको आकांक्षा, विकासको पथबाट अलग्गिएको जनकपुरधामलाई सीमित स्रोत साधन एवं कानून अभावको अवस्थाबाट गुज्रिँदै पुनः विकासको बाटोमा ल्याउन चुनौतीपूर्ण काम रहे पनि आफूले चार वर्षमा विकास र समृद्धिको बाटोमा फेरेको कोल्टो सबैसामू छर्लङ रहेको जिकिर गरे ।

चार वर्षअघिको जनकपुरधाम र अहिलेको जनकपुरधामको अवस्थाको मूल्यांकन स्वयं जनकपुरवासीले नै गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

उनले भने, ‘विगतमा जानकीमाताको दर्शन गर्न आउनेहरूले जनकपुरधामलाई ‘फोहोरी जनकपुर’, ‘गन्हाउने जनकपुर’ भन्ने गरेको यहाँहरूसामू सर्वविदित नै छ । अहिले जनकपुरधामले प्राप्त गरेको स्वरूपबाट तीर्थयात्री तथा पर्यटकहरूले ‘ए जनकपुर त फेरिएछ’ भन्न थालेको यहाँहरूले पक्कै पनि महसुस गर्नु भएकै छ ।’

एडिबीको ऋण सहयोग तथा संघीय सरकार र जनकपुरधाम उपमहानगरको सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास परियोजनाले प्रगति हाँसिल नगर्दा परियोजना खारेजी हुने चरणमा गइसकेको अवस्थामा आफूले खारेजी हुनबाट रोकेर काम सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ ।



साहले विगतको चार वर्षमा आफ्नो नेतृत्वमा जनकपुरधामको समग्र विकासका लागि भएको कामकाजको लामो फेरहिस्त जनकपुरधामवासीसमक्ष छरपष्ट रहेको बताउँदै चार वर्षमा गरेका काम, दृढ इच्छाशक्ति हुँदाहुँदै पनि गर्न नसकेका केही काम एवं अगामी दिनमा जनकपुरधामको सर्वाङ्गीण विकासका लागि आफूसँग रहेको योजना नै आफ्नो उम्मेदवारीको मुख्य कारण रहेको बताए ।

उनले आफूले लामो समयदेखि विभिन्न अवरोधका कारण बाधित रहेको आइयुडिपी परियोजनालाई निर्वाचित भएलगतै सुचारु गराई जनकपुरधामको मुहार फेर्ने प्रयत्न गरेको दाबीसमेत गरे । जनकपुरधामको ठूलो समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनका लागि सोलिड वेस्ट मेनेजमेन्टको डिपिआर तयार गरिसकेको हुँदा आगामी कार्यकालको पहिलो प्राथमिकतामा रहने उनको जिकिर थियो ।



आफ्नो नेतृत्वमा भएको विकासका कारण पाँच वर्षअघिको आर्थिक गतिविधिमा अहिले सयौ गुणा वृद्धि भएको साहको दाबी छ ।

आफ्नो कार्यकालमा जनकपुरधाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणले यहाँको धार्मिक महत्व विश्वमै स्थापित भएको र जनकपुरधाममा धार्मिक पर्यटकको संख्यामा कयौं गुणा वृद्धि भएको उनको भनाइ थियो ।

जनकपुरधामको शिक्षा, स्वास्थ्यमा समेत उपमहानगरपालिकाले खेलेको भूमिका जनकपुरधामवासी सामू छरपस्ट रहेको साहको प्रस्टोक्ति छ । जनकपुरधाम उमहानगर भएपछि प्रशासनिक कार्यहरूलाई व्यवस्थित गराउन सुविधासम्पन्न कार्यालय भवन तथा वडा कार्यालयहरुको निर्माण समेतलाई उपलब्धिको रुपमा लिएको साहको भनाइ छ ।

साहले जनकपुरधामको विकासको लागी विगत चार वर्षमा सीमित स्रोत साधनबीच महत्वपूर्ण कार्यहरू गर्न सफल भए पनि थुप्रै महत्त्वपूर्ण कार्यहरू गर्न अझै बाँकी रहेको महसुस गर्दै पुनः आफ्नो दावेदारी प्रस्तुत गरेको बताए । 

मधेस विद्रोहका शहीदहरूको सम्मानमा जनकपुरधाम उमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशद्वारमा शहीद स्मारक निर्माण गरी भगवान रामको प्रतिमा राखिसकेको भन्दै उनले अगामी दिनमा जनकपुर–जटही सिक्स लेन अर्थात भारतबाट जनकपुरधाम प्रवेश हुने मुख्यद्वारमा शक्ति र संस्कारको अनुपम उदाहरणको रुपमा माता सिताले शिव धनुषलाई हाथमा लिई पुजा कोठा सफा गर्दै गरेको दृश्यसहितको प्रवेशद्वार तथा जलेश्वर–जनकपुर सडक खण्डमा लोकनायक सलहेस एवं दिनाभद्री लगायतको प्रतिमा सहितको प्रवेशद्वार निर्माण गरिने आफ्नो योजना रहेको समेत सुनाए ।

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको सभागृहको आवश्यकतालाई मध्यनजर गर्दै राजा जनकको दरबारको शैलीमा आकर्षक एवं आधुनिक सुविधायुक्त सभागृह निर्माण गर्ने योजना बनाएको बताउँदै उनले यसका लागि प्रारम्भिक अध्यनको काम पुरा भइसकेको हुँदा आगामी कार्यकालमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

मिथिला संस्कृति, कला, नाटक, साहित्य, भोजनका परिकारहरुको संरक्षण, सम्वद्र्धन गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मिथिला महोत्सवको आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्नुका साथै मिथिला चित्रकलाको संरक्षण र सम्बर्द्धनका लागि नारी विकास केन्द्रको पुनर्उत्थान गरिने जिकिरसमेत गरे ।

साहले आफू पुनः निर्वाचित भएपछि जनकपुरधामको धरोहरको रूपमा रहेको यहाँको मठ-मन्दिर, गुठी तथा सार्वजनिक सम्पदाको संरक्षण र सम्वर्द्धनलाई प्रमुख प्राथमिकतामा राख्ने विश्वाससमेत दिलाए ।

जनकपुरधामको वातावरणीय संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका यहाँका रिक्सा चालक (अटो रिक्सा, इ–रिक्सा) हरुलाई स्वास्थ्य तथा दुर्घटना विमाको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।

जनकपुरधामको प्रतिष्ठित राराब क्याम्पसको पुरानो शैक्षिक गरिमालाई पुनस्थापित गर्न त्रिभुवन विश्वविद्यालयसँग समन्वय र सहकार्य गर्ने उनले बताए ।

त्यस्तै, जनकपुरधाम र अयोध्याबीच रहेको भगिनी सम्बन्धलाई थप मजबुत बनाउन जनकपुरधामका साधु सन्तहरूलाई अयोध्यासम्मको निःशुल्क धार्मिक भ्रमणको व्यवस्था मिलाउने साहले बताए ।

साहले यहाँका स्वास्थ्य चौकीहरुलाई ‘डोर टु डोर’ सेवाको रुपमा रुपान्तरण  गर्ने विश्वाससमेत दिलाए ।

पोखरीको डिल तथा खुला ठाउँहरुमा वृक्षारोपण गरि वातावरण संरक्षणका साथै खुला व्यायामशाला निर्माणको अध्ययन भइसकेको हुँदा आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

  • प्रकाशित मिति : वैशाख १४, २०७९ बुधबार १६:२३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया