बिपीको शालिकअगाडि उभिएर जगन्नाथले भने– रुखमा पानी हाल्न खोज्दा ममाथि कारवाही भयो

सत्ता गठबन्धनको मेयर उम्मेदवार रेनु दाहालविरुद्ध भरतपुरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । 

शनिबार निर्वाचन आयोगबाट भुइँकटहरलाई चुनाव चिह्नका रुपमा पाएका पौडेलले चुनावी अभियान सुरु गर्दा बिपी कोइरालाको शालिकलाई माल्यार्पण मात्र गरेनन्, आफूले कांग्रेसको भावनाको समर्थनमा मेयरमा उम्मेदवारी दिएको पनि दोहोर्याए । 

उनको पछाडि अब विस्तारै भरतपुरमा कांग्रेसका कार्यकर्ताको पंक्ति बढ्न थालेको छ, उनको उम्मेदवारीलाई भरतपुरमा राम्रो सन्देश प्रवाह गर्ने आधार बन्दै गएको छ । यसका कारण पनि पौडेलले मेयरमा राम्रो मत ल्याउन सक्छन् भन्ने अनुमान गरिएको छ । 

यसको अनुमान त केबाट पनि लगाउन सकिन्छ भने भरतपुरमा उनले उम्मेदवारी दिएपछि कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई बारम्बार फोन मात्र गरेनन्, गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण उनलाई फकाउन भरतपुर नै पुगे । राज्यमन्त्री उमेश श्रेष्ठ पनि उनको उम्मेदवारी फिर्ता गराउन भरतपुरमा पुगेका थिए । 

पौडेलको उम्मेदवारीका कारण गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको मत संख्या काटिने विश्वास गठबन्धनलाई छ । उनको उम्मेदवारीलाई नेकपा एमालेले चाहिँ आफ्नो बलका रुपमा लिएको छ । 



पौडेलले उम्मेदवारी फिर्ता लिनुभन्दा अगाडिदेखि जे अडान कायम राखेका थिए, त्यसलाई निरन्तरता दिए । 

कतिसम्म भने प्रधानमन्त्री देउवाले उनलाई राष्ट्रिय सभामा ल्याउने वाचासमेत दिएका थिए । ‘प्रधानमन्त्री देउवाले उहाँलाई राष्ट्रिय सभामा ल्याउने वाचासमेत गर्नुभएको थियो,’ भरतपुरका एक कांग्रेस नेताले फरकधारलाई भने, ‘उहाँले यस्तो आश्वासनमा उम्मेदवारी फिर्ता लिएको भए चितवनमा कांग्रेस थप कमजोर हुँदै जाने निश्चित थियो । त्यसैले अहिले उहाँलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरि कारवाही गरिएको भए पनि यसले हामीलाई कुनै अप्ठ्यारोमा पारेको छैन । उहाँको उम्मेदवारीले कांग्रेसलाई थप बलियो बनाउने निश्चित छ ।’



त्यसो त चुनाव चिह्न पाएपछि चुनावी अभियान सुरु गरेका पौडेलले पनि बिपीको शालिकमा माल्यार्पण गरेपछि आफूले कांग्रेसका समर्थकले रुखमा भोट हाल्न पाउनु पर्छ भन्दा कारवाहीमा परेको बताएका छन् । ‘म ५० वर्षदेखि कांग्रेसको सेवा गर्दै आएको छु,’ उनले भनेका छन्, ‘कांग्रेसमा झाँगिँदै गएको विकृतिविरुद्ध एकसाथ लड्न मोर्चामा उभिन आग्रह गर्दछु, मेरो यो उम्मेदवारी पनि यही कुराको प्रतिफल हो ।’

उनले अहिले भरतपुरमा भएको गठबन्धन अपवित्र भएको मात्र बताएका छैनन्, आफ्नो उम्मेदवारीले भरतपुरमा कांग्रेसलाई एकताबद्ध गर्न सहयोग गर्ने पनि बताएका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा २०३ मतको झिनो अन्तरले एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै जित हासिल गरेकी दाहाल फेरि दोहोरिएलिन् वा उनको मेयर बन्ने सपना यत्तिकैमा अन्त्य होला भन्ने निर्धारण पौडेलले ल्याउने मतमा निर्भर हुनेछ ।

  • प्रकाशित मिति : वैशाख १७, २०७९ शनिबार २२:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया