पाण्डुसैन झडप नियन्त्रणमा आयो, सेना र सशस्त्रको गस्ती कायमै
एकीकृत समाजवादीका जिल्ला सचिवमाथि चक्कु प्रहार

बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसैनमा भएको झडप नियन्त्रणमा आएको छ । 

जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थलमा पुगेको केही बेरमा नै स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

जिल्ला सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी र थप प्रहरीको टोली घटनास्थलमा पुगेपछि स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले जानकारी दिए । राति ८ बजेपछि झडप नियन्त्रणमा आएको बोगटीले बताए ।

नेकपा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच कुकुरलाई हिर्काएको निहुँमा झडप भएको थियो । 

झडपमा १० जना प्रहरी, तीन जना नेकपा एसका र तीन जना नेपाली कांग्रेसका कार्यकर्ता गरी १६ जना घाइते भएका छन् । 

झडपलाई नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक बोगटीले बताए ।



फेरि पनि दुई पक्षबीच झडप हुनसक्ने अवस्था कायमै रहेका करण सुरक्षा टोलीलाई तैनाथ राखिएको बोगटीले बताए । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको र नेपाली सेनाले समेत घटनास्थलमा गस्ती गरिरहेको प्रहरी निरीक्षक बोगटीले बताए ।



एकीकृत समाजवादीका जिल्ला सचिवमाथि चक्कु प्रहार

नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव पुरबहादुर रावतलाई नेपाली कांग्रेसका कार्यकर्ताले चक्कु प्रहार गरेका छन् । 

एकीकृत समाजवादी र कांग्रेसका कार्यकर्ताबीच झडपका क्रममा रावतमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

झडपका क्रममा नेता रावतमाथि चक्कु प्रहार हुँदा उनी घाइते भएको जिल्ला प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

  • प्रकाशित मिति : वैशाख २३, २०७९ शुक्रबार २१:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया