ओलीको दाबी : देउवाको प्रस्ताव अस्वीकार गर्दा समयमै निर्वाचन भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले ९ वैशाखसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गरेका छन् । शुक्रबार स्थानीय तह निर्वाचनमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

ओलीले आफ्नो अस्विकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको पनि बताए । उनले देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको पनि उल्लेख गरे । दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ कांग्रेसहितका दलहरू ओलीले बताए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो । धाक लगाउने कुरा होइन, मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुस्, अलोकतान्त्रिक बाटो नहिँड्नुस्, भनेर उहाँलाई राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानुनले बाध्यता भएपछि उहाँहरू तयार हुनुभएको हो । ९ गतेसम्म पर सारौँ भन्नुहुन्थ्यो । आज आफैँले शंकाको बीचमा भोट हाल्नुभयो होला नि भन्नुभएको छ तर शंका होइन, सप्रमाणको कुराबाहेक केही छैन । मैले यो कुरा भनेको थिइनँ,’ ओलीले भने, ‘देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ । कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन, वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन ।’

ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उल्लेख्य र उत्साहजनक रहेको पनि बताए । उनले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैँ बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाए ।  

‘केही ठाउँमा पाँच गठबन्धनका दलहरूबाट आक्रमण गर्ने काम भइरहेको छ । लोकतान्त्रिक संस्कार, मूल्य मान्यताको अभाव हो, व्यवहारको अभाव हो । चुनावभन्दा अघिदेखि पनि उहाँहरूको त्यस्तै खालको रबैया भएको थियो । लोकतन्त्रमा एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्छ । यसअघि जित्नैपर्छ भनेर मान्छेलाई ट्रेण्ड गराउने भन्ने हुँदैन । यसअघि २०६४ को निर्वाचनमा हामीले गर्ने, नगर्ने सबै गरेका थियौँ, बुथ कब्जा गरेका थियौँ, त्यसरी जितेका थियौँ, पछि त्यसो गर्न छोडेर बिग्रियौँ भन्ने नेताहरुकै अभिव्यक्ति सुन्नुभएको होला,’ ओलीले भने ।

उनले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको पनि दाबी गरे । ओलीले नेकपा एमालेले भनेको परिणामसँग डराउनेहरूले अवाञ्छित क्रियाकलाप गरिरहेको बताए । आज स्थानीय निर्वाचन देशभर एकसाथ भइरहेको छ ।  





  • प्रकाशित मिति : वैशाख ३०, २०७९ शुक्रबार १३:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया