मधेसमा सत्तारुढ दलले धाँधली गरेको एमालेको आरोप

नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए पनि कांग्रेसलाई जिताउन मतगणनामा खटेका  निर्वाचन अधिकृतबाट धाँधली गरिरहेको  आरोप लगाएका छन् ।

एमालेका मधेस प्रदेशका इन्चार्जसमेत रहेका महासेठले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहे पनि मतगणनामा निर्वाचन अधिकृतले सत्ता गठबन्धनलाई जिताउन धाँधली गरिरहेको आरोप लगाए ।

निर्वाचनमा नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै एमालेलाई हराउन स्थानीय निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएको उनले आरोप लगाए । 

निर्वाचनसम्बन्धी नेपालको इतिहासमै कहिल्यै नभएको निर्णय यसपटक भएको आरोप लगाउँदै उनले भने, ‘सत्तारुढ गठबन्धनले एमालेलाई हराउन खसेको मत पत्रभन्दा पनि बढी मत फेला परे पनि त्यसलाई सदर गिन्ती गर्नेलगायतका निर्णय निर्वाचन आयोगबाट स्लकुलर भएको छ । यसले निर्वाचन प्रणालीलाई बदनाम गर्ने काम भएको छ ।’ 

मधेस प्रदेशका धनुषा, सर्लाही, रौतहट, महोत्तरी, पर्सा, सिरहा र सप्तरी सहितका अधिकांश जिल्लामा मतपेटिकाभित्र बढी मतपत्र भेटिनु, सत्तारुढ गठबन्धन दलको लागि सहज रुपमा रिकाउन्ट गर्नु र अन्य दलले रिकाउन्ट माग गर्दा पनि नगर्नुलगायत क्रियाकलाप देखिएको उनले बताए । 

रौतहटमा एमाले पक्षका १२ मतदान केन्द्रमा मतदान रद्द गराउनु, सर्लाहीको कडौना धनकौल, बागमती, बलरा र बरहथवामा एमाले कार्यकर्तामाथि आक्रमण गरी बुथ कब्जा गर्नु, धनुषाको धनौजी, क्षीरेश्वरनाथ र मिथिला बिहारीसहितका पालिकामा खसेको भन्दा बढी मत भेटिनु भनेको एमालेलाई हराउन सत्तारुढ गठबन्धन दलबाट धाँधली भएको उनले दाबी गरे । 



सत्ताको दुरुपयोग गरी कांग्रेसले एमालेबाट धनगढी नगरपालिकाका जितिसकेको घोषणा गरेको दुई घण्टापछि पुनः मतगणना गरी केही मतले सो उम्मेदवार हराएर आफ्ना उम्मेदवारलाई जिताउनु, जित्न लागेका एमालेका उम्मेदवारलाई १०–१० मतको मतान्तरले जबरजस्ती हराउनुलगायत क्रियाकलाप अनुचित रहेको भन्दै मतपत्र बढी भेटिएका कारण मंगलबार बिहानैदेखि स्थगित गरिएको मतगणना सुचारु गर्न माग गरे ।

सचिव महासेठले मतदानको क्रममा मतदान केन्द्रको पोलिङ एजेन्टमा खटिएकाहरुले एक–एक हजार रुपैयाँ राखेर नै मतपत्र लिने बेलामा मतदातालाई दिएको आरोप लगाए ।



  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २२:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया