कन्सल्टेन्सी सन्चालकले युवतीलाई ६ महिनासम्म बलात्कार गरेको सार्वजनिक
साङ्केतिक तस्वीर

मिस ग्लोबल इन्टरनेसनल २०१४ मा सहभागी भएकी एक प्रतियोतीले आफूलाई पाण्डे थर भएका एक कन्सल्टेन्सी सन्चालकले आफूलाई बेहोस हुने औषधी मिसाएर लेमोनेड खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छिन् । 

टिकटकमा उनले सार्वजनिक गरेको भिडियोमा कन्सल्टेन्सीका सन्चालकको नाम लिएकी छैनन्, थर मात्र भनेकी छिन्– पाण्डे ।

उनले नै इन्स्टाग्राममा राखेको भिडियोमा भने ती कन्सल्टेन्सी सन्चालकको नाम लिएकी छिन्, मनोज पाण्डे । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका प्रमुख पाण्डेले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको उनले आरोप लगाएकी छिन् ।

विद्यार्थीहरुलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरु आयोजना गर्ने यो कन्सल्टेन्सीका सन्चालकले आफूलाई बलात्कार गरेको र आफूले यो कुरा त्यति बेला मिस नेपालसमेत भएकी मोडल माल्भिका सुब्बालाई भनेको तर उनले यसलाई ‘तिम्रो समस्या हो’ भन्दै बेवास्ता गरेको युवतीले आरोप लगाएकी छिन् ।

मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका मनोज पाण्डेले आफूलाई सफलताको पार्टी भन्दै बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको र आफूलाई लेमोनेडमा बेहोस हुने औषधी हालेर खुवाएको उनले बताएकी छिन् ।

पार्टी भनेर बोलाइए पनि आफू एभरेस्टमा पुग्दा त्यहाँ कोही नभएको भन्दै उनले भिडियोमा आफूले लेमोनेड खाएको केही समयपछि रिंगटा लागेको महसुस गरेको र आफूलाई त्यहाँबाट कोठामा गएर आराम गर्न भनिएको बताएकी छिन् ।



त्यसपछि आफूलाई होस नभएको भन्दै उनले आफू बेलाबेलामा ब्यूझँदा मनोज पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छिन् ।

उनले भोलिपल्ट विहान घर जाने बेलामा यो कुरा कसैलाई नभन्नु, मसँग तिम्रो फोटो र भिडियो छ, सार्वजनिक गरिदिन्छु भनेर मनोजले धम्क्याएको र आफू त्यति बेला १६ वर्षको मात्र भएको पनि बताएकी छिन् ।



उनले त्यसपछि ती कन्सल्टेन्सी सन्चालकले आफूलाई ६ महिनासम्म बलात्कार गरेको आरोप पनि लगाएकी छिन् । 

पछि यो समस्याबारे माल्भिका सुब्बालाई आफूले भनेको तर उनले यो तिम्रो समस्या हो भन्दै बेवास्ता गरेको पनि उनले बताएकी छिन् ।

पूर्वमिस नेपाल शृङ्खला खतिवडाले भने यो भिडियो सार्वजनिक भएपछि आफूलाई दुःख लागेको प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सन्जालमा अहिले यो विषयमा व्यापक बहस भइरहेको छ । प्रहरीले यो घटनाबारे छानबिन सुरु गरिसकेको छ । 

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया