सुदूरपश्चिममा यी केन्द्रीय नेताले गुमाए आफ्नै पालिका र वडाको बिरासत

सुदूरपश्चिममा स्थानीय तहको मत परिणाम सार्वजनिक हुने प्रक्रिया अन्तिम चरणमा छ । प्रदेशका ८१ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । 

सुदूरपश्चिम २०७४ को निर्वाचनभन्दा फरक नतिजा आएको छ । यहाँ केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पाएको स्थानीय तहमा नै दलहरूले चुनाव हारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वमन्त्री लेखराज भट्ट, रामजनम चौधरी, गौरीशंकर चौधरीसम्मले आफ्नो वडा तथा पालिकामा प्रभाव गुमाउन पुगेका छन् । भीम रावलको गृहपालिका अछामको साँफेमा पनि सुरुवात मतगणनामा नेकपा एमाले पछाडि नै छ ।

कांग्रेसका सभापतिसमेत रहेका देउवाको वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ हो, जहाँ कांग्रेसका वडाध्यक्षका उम्मेदवार पराजित भए । सो वडामा कांग्रेस बीपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन् । यद्यपि, गन्यापधुरा गाउँपालिका अध्यक्षमा भने कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् ।

यता एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टको गृहनगरमा एमाले उम्मेदवारले पराजित हुनुपर्यो । कैलालीको गोदावरी नगरपालिकामा एमालेले सचिव भट्टका भाइ गोकर्ण भट्टलाई मेयर उम्मेदवार बनाएको थियो । मेयरमा कांग्रेसका वीरेन्द्र भट्ट विजयी भए । 

यस्तै, कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीको आधार इलाकामा केही महिना अगाडि दर्ता भई चुनावमा होमिएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले झण्डा गाडेको छ । 

पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका–४ को वडाध्यक्षमा चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरी निर्वाचित भएका छन् । 



उनी कांग्रेसका उम्मेदवारलाई पराजित गरेर आफ्नो प्यानलसहित वडाध्यक्षमा विजयी भए । पूर्वमन्त्री चौधरीको घर यही वडामा छ । २०७४ को स्थानीय तहको निर्वाचनमा जोशीपुर गाउँपालिकामा कांग्रेसले जितेको थियो । 

त्यस्तै, पूर्वराज्यमन्त्री रहेका नेपाली कांग्रेसका नेता जनकराज चौधरीको घर रहेको जोशीपुर गाउँपालिका-५ मा पनि नागरिक उन्मुक्ति पार्टी नै विजयी भएको छ । 



वडा मात्रै होइन, कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिकाले नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।  सो क्षेत्र अघिल्लो निर्वाचनमा रेशम चौधरी जितेको क्षेत्र पनि हो । 

यस क्षेत्रबाट कांग्रेस नेता तथा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल पनि प्रतिनिधित्व गर्छन् ।

कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखकको घर भएको कञ्चनपुरको एक वडा एकीकृत समाजवादीले जितेको छ । जिल्लाको वेदकोट नगरपालिका–८ को वडाध्यक्षमा समाजवादीका वेदकोट नगर अध्यक्षसमेत रहेका महेशराज जोशी निर्वाचित भएका छन् । वेदकोटमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 

गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलु बोहरालाई ११० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, बैतडीको पुर्चौडी नगरपालिकालाई माओवादीको आधार क्षेत्र मानिँदै आएको थियो । सो नगरपालिकामा माओवादी केन्द्रले एक वडाबाहेक अरुमा जित निकाल्न सकेन । 

माओवादीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) र माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष रणबहादुर कुँवरको गृहपालिका पुर्चौंडीमा माओवादी निकै कमजोर देखिएको हो । 

गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै जितेको माओवादीले अहिले दुवै गुमाएको छ । त्यहाँ नेपाली कांग्रेसको वर्चस्व देखिएको छ । 

यस्तै, दशरथचन्द नगरपालिकालाई कांग्रेसको 'गढ' क्षेत्र मानिन्थ्यो । कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेपाली कांग्रेसका पूर्वसचेतक विनयध्वज चन्द, पूर्वराज्यमन्त्री नरबहादुर चन्द र पूर्वसभापति शिवराज भट्टको गृहपालिका दशरथचन्दमा कांग्रेस चार वडामा खुम्चिएको छ । 

यस्तै, एकीकृत समाजवादी पोलिटब्युरो सदस्य परमानन्द भट्ट, केन्द्रीय सदस्य नरेन्द्र बिष्ट र माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज एवं प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य) को गृहपालिका बैतडीको सुर्नयामा दुवै दल कमजोर देखिएका छन् । 

यस्तै, बैतडीको सुर्नया गाउँपालिका राप्रपाका पूर्व महामन्त्री एवं पूर्वमन्त्री जयन्तबहादुर चन्दको गृह पालिका पनि हो । सुर्नयामा राप्रपाले एक वडामा जित हासिल गर्नबाहेक अन्य पदमा जित हासिल गर्न सकेन ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १५:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया