जालेबगर खण्ड पुनर्निर्माणमा ढिलाइ : सेतीले डाइभर्सन बगाउनै लाग्यो, अझै सकिएन स्थायी सडकको काम
प्रजिअ भन्छन्– सडकको काम सडककै मान्छेलाई सोध्नू

बाढीले राजमार्ग बगाएपछि गत कात्तिकभर यातायात सम्पर्क विच्छेद भएको बझाङमा फेरि त्यही नियति दोहोरिने संकेत देखिएको छ । बाढीले बगाएको जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा गाउँपालिकामा पर्ने जालेबगर खण्ड पुनर्निर्माणमा ढिलासुस्ती हुँदा जिल्ला नै यातायात सम्पर्क विच्छेद हुने खतरा बढेको हो । 

कात्तिक अन्तिमतिर सेती नदीको धार फर्काएर अस्थायी रूपमा सडक सञ्चालन गरिएको थियो । यद्यपि हिउँ पग्लिने मौसम सुरु भएपछि सेतीको सतह बढेर अस्थायीरूपमा बनाइएको सडक नजिक पुगिसकेको छ । हिउँ पग्लिने क्रम बढेको र वर्षा पनि सुरु भइसकेकाले केही दिनभित्रै अस्थायी सडक बाढीले बगाउने सम्भावना बढेको प्राविधिकहरू बताउँछन् ।  

‘वैशाखभित्रै स्थायी सडकको काम सम्पन्न गर्न सकिएन भने आउने असोजसम्मै बझाङ जिल्ला यातायातविहीन हुने निश्चित जस्तै भइसकेको छ,’ इन्जिनियर हरिशंकर जोशीले भने । 

यता सडक निर्माणको जिम्मा लिएका ड्रागन, जगदम्बा, सुर्मासरोवर जेभीका सञ्चालक शेरबहादुर बोहरा आफूले गर्ने सम्पूर्ण काम भइसकेको र जिल्ला प्रशासन कार्यालका कारण काम रोकिएको प्रतिक्रिया दिन्छन् । प्रशासनले लापरबाही गर्दा विस्फोटक पदार्थ उपलब्ध हुन नसकेकाले काम प्रभावित भएको उनले बताए । 

विस्फोटक पदार्थ उपलब्ध भएमा केही दिनमै काम सकिने बोहराले बताए । जिल्ला प्रशासन कार्यालयले भने ‘सडकको काम सडककै मान्छेलाई सोध्नू’ भन्दै जवाफ फर्काएको छ । जालेबगर सडकखण्डको बारेमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले सडकको काम सडकको मान्छेलाई सोध्नुपर्ने र आफूलाई यस विषयमा कुनै जानकारी नभएको जवाफ दिए । 



जिल्ला प्रशासन कार्यालयले विस्फोटक पदार्थ उपलब्ध गरिदिनका लागि गृह मन्त्रालयमा पत्र पठाएको तर त्यसपछि आफूलाई केही जवाफ नआएको पनि प्रजिअ अर्यालले बताए ।  

करिब १ सय मिटर पश्चिमतिरको कडा चट्टान फोरेर स्थायी सडक निर्माणको काम पुसमै सुरु भए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदा फेरि उस्तै समस्या दोहोरिने खतरा बढेको छ । ५ करोड ५० लाख रुपैयाँ लागतमा वैशाख मसान्तभित्रै सडकको पुनर्निर्माण सम्पन्न गर्ने गरी ड्रागन, जगदम्बा, सुर्मासरोवर जेभीसँग गत पुसमा ठेक्का सम्झौता भएको थियो ।



सडक खण्डको ८० मिटर भाग कडा चट्टानी रहेको र उक्त खण्डमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको छ । रक्षा मन्त्रालयमार्फत उपलब्ध हुने विस्फोटक पदार्थ ल्याउन ढिलाइ हुँदा निर्माण कार्य नसकिएको भन्दै प्रजिअ र निर्माण व्यवसायीले एकअर्कालाई आरोप लगाउन थालेका छन् ।

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १२:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया