फुटबललाई घर चलाउने माध्यम बनाउनु हुँदैन : कर्मा छिरिङ शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबललाई घर चलाउने माध्यम बनाउन नहुने बताएका छन्  । आगामी असार ६ गते हुने संघको केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले फुटबललाई घर चलाउने माध्यम नहुने बताएका हुन् ।

शेर्पाले भने, ‘फुटबलमा काम गर्ने र नगर्ने चिनिन्छ । फुटबलमा लगानी गर्ने र नगर्ने चिनिन्छ, त्यसैले म यहाँ भन्छु कसैले पनि फुटबललाई घर चलाउने माध्यम बनाउनु हुँदैन ।’ 

यस्तै शेर्पाले चार वर्षमा चाहेजस्तो नभए पनि कोरोना महामारीको समयमा पनि राम्रो काम गरेको र फुटबललाई नीतिगत रुपमा अगाडि बढाउने काम भएको बताए ।

‘चार वर्षमा चाहे जति काम गर्न सकिएन तर कोभिडको समयमा पनि धेरै काम गर्न सक्यौँ,’ उनको दाबी थियो, ‘फुटबललाई नीतिगत रूपमा अघि बढाउने काम चार वर्षमा हामीले गर्यौँ ।’

पूर्व अध्यक्ष गणेश थापालाई संकेत गर्दै उनले भने, ‘म फुटबल छोडेपछि यसैको टिका–टिप्पणी गर्दिन । फुटबल छोडेपछि म आफ्नो काम गरेर बस्छु ।’ 

शेर्पाले थपे, ‘मैले घरको माली र भान्छे फुटबलको पैसा खर्च गरेर राखेको छैन, घरको टेलिभिजन पनि एन्फाको पैसाबाट किनेको छैन । फुटबललाई घर चलाउने माध्यम बनाउनु हुन्न भन्ने मेरो तर्क हो ।’  



अध्यक्ष शेर्पाले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ कार्यकालका लागि उम्मेदवारीको घोषणा गरेका हुन् । उनी चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै, शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा दीर्घ बहादुर केसी (कुमार) , उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।



सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । 

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १६:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया