अब कुन-कुन स्थानीय तहको मतपरिणाम आउँन बाँकी ?

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । आज बिहानसम्म एक महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अब पाँच महानगरपालिकासहित १८ पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । दुईवटा पालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । विवादका कारण उदयपुरको त्रियुगा र बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना विवादका कारण सुरु हुन नसकेको हो । 

अहिलेसम्म प्रदेश-१ मा उदयपुरका दुईवटा पालिका, मधेश प्रदेशका रौतहटका चार, सिराहा, बारा र पर्साका एक/एक पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । त्यस्तै, बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ । 

गण्डकीमा पोखरा महानगरपालिका, लुम्बिनीमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ । कपिलबस्तुमा महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । 

सुदूरपश्चिम प्रदेशमा बाजुराको बूढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ । सार्वजनिक मत परिणामअनुसार अहिलेसम्म कांग्रेसले सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । उसले ३२२ स्थानीय तह जितेको छ ।

दोस्रोमा रहेको एमालेले २०२, माओवादी केन्द्रले १२० जितेका छन् । अन्यतर्फ ३०, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादी पार्टी १८ र लोकतान्त्रिक समाजवादी पार्टीले १६ स्थानीय प्रमुख जितेका छन् । 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ७:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया