डा. केसीले भाेलि इलामबाट अनशन सुरु गर्ने

काठमाडौं– प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले आफ्ना मागहरु पूरा नगर्ने निर्णयमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पुगेका छन् । यही निष्कर्षका साथ भोलिबाट अनशन सुरु गर्न उनी इलाम पुगेका छन् ।

केसीनिकट जीवन क्षेत्रीका अनुसार डा. केसीले भोलिबाट अनशन सुरु गर्नेछन् । ‘यो सरकारले प्रतिबद्धता जनायो तर माग पूरा गर्ने कुनै तयारी देखिएन,’ क्षेत्रीले फरकधारसँग भने, ‘सरकारले विगतमा गरेको सहमति पनि पूरा नहुने पक्कापक्की भएकाले डा. केसी अनशन बस्ने निश्चित भएको हो ।’

भोलि नै संसद्को समितिसँग डा. केसीको प्रतिनिधि टोलीले वार्ता पनि गर्दै छ । ‘त्यो वार्तामा हाम्रा मागअनुसार विधेयक जाने भएमा अनशन रोकिन्छ पनि, तर उनीहरुले हाम्रा मागलाई सम्बोधन गर्लान् भन्ने लाग्दैन,’ क्षेत्रीले भने । 

गत १० साउनमा सरकारी वार्ताका टोलीका संयोजक खगराज बराल र डा केसीबीच भएको सम्झौता सरकारले पालना नगरेको केसीले आरोप लगाएका छन् । साउनमा केसीले यो सम्झौता भएपछि आफ्नो १५ औं अनशन तोडेका थिए । यो सम्झौता नेकपाका महासचिव विष्णु पौडेल, नेकपा नेता सुवास नेम्वाङको रोहबरमा भएको थियो ।

‘सम्झौता भएको पाँच महिनापछि आइतबार संसद्को समितिले बनाएको उपसमितिले हामीसँग भएका सम्झौता भुलेर नयाँ विधेयक प्रस्तुत गर्यो,’ क्षेत्रीले भने, ‘यस्तो अराजकता देखाएपछि अनशनको विकल्प रहेन ।’

सांसद्को समितिले बनाएको भैरवबहादुर सिंहको उपसमितिले ऐनमा उपत्यका बाहिरको हकमा आफ्नो मागलाई बेवास्ता गरेको डा केसीले आरोप लगाएका छन् । उपसमितिको प्रस्तावअनुसार झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजले अहिलेकै विश्वविद्यालयबाट सम्बन्धन लिन पाउने प्रावधान छ । डा. केसीले यही कुरामा विरोध जनाएका हुन् । 



यतिमात्र होइन, डा. केसीले सिटिइभिटी प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्यसम्बन्धी कार्यक्रमका हकमा पनि सम्झौता विपरित प्रावधान राखिएको आरोप लगाएका छन् ।

डा. केसीसँगको सम्झौताको विषयलाई लिएर अहिले संसद्मा सत्तारुढ दल र विपक्षी दलका नेताको मत बाझिएको छ । डा. केसीले नेकपाका अध्यक्षद्वयविरुद्ध कडा शब्दमा निन्दा गर्न थालेका छन् भने सत्तारुढ दलका सांसदहरुले पनि डा. केसीको चर्को आलोचना गरिरहेका छन् ।



  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार २०:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया