यसाे गरे छाेडिन्छ निद्रामा बर्बराउन

स्वस्थ रहनका लागि निद्रा अत्यावश्यक छ । निद्राको प्रकृति  व्यक्तिपिच्छे फरक हुन्छ । कोहीलाई निद्रा पर्न घन्टौँ लाग्छ भने कोही एकै छिनमा निदाउने गर्छन् । सामान्यतया निद्रा दुई किसिमको हुन्छ, रेम स्लिप र नन रेम स्लिप । नन रेम स्लिप सामान्य खालको निद्रा हो, अर्थात् यो निद्रामा व्यक्ति सजिलै ब्युँझन सक्छ । रेम स्लिप गहिरो निद्रा हो ।

सुतेको झन्डै ९० मिनेटपछि मानिसहरू यस्तो चरणमा पुग्छन् । यो समय मस्तिष्क एकदमै सक्रिय रहन्छ र मानिसहरू सपना देख्छन् । बालबालिका झन्डै ५० प्रतिशत समय यस्तो निद्रामा हुन्छन् । तर, वयस्कहरू औसत २० प्रतिशत समय मात्रै रेम स्लिपमा बिताउँछन् । निद्रा नपर्दा, बिथोलिँदा वा अन्य कारणले गर्दा स्वास्थ्यमा असर परिरहेको हुन्छ । कतिपय मानिस निद्रामा बर्बराउने र झस्कने गर्छन् । 

कारण  

  •  निद्रामा बर्बराउनु पनि एक किसिमको समस्या हो । कतिपयले यसलाई मानसिक समस्यासँग जोडेर हेर्छन्, जुन गलत हो । सामान्यतया निदाएको वेला मस्तिष्क सक्रिय रहने भएकाले झस्किने, बर्बराउने हुन्छ ।
  •  मानसिक तनावका कारण पनि निद्राबाट बारम्बार झस्किएर सुत्न गाह्रो हुने समस्या हुन्छ । तर, यस्तो समस्या भएमा बर्बराउने, बीचबीचमा ब्युँझने, डर लाग्ने, उठ्दा पसिनैपसिना हुने र सास फेर्न गाह्रो हुने हुन्छ । कुनै ठूलो दुर्घटनामा परेका, बलात्कारजस्ता घटनाका पीडितमा यस्तो समस्या हुन सक्छ । 
  •  रक्सी तथा लागुऔषध सेवन धेरै गरेमासमेत यस्तो समस्या हुन सक्छ । यस्तै, लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्ने व्यक्तिमा समेत निद्रामा समस्या हुने गर्छ ।

कसरी बच्ने

  •  धेरै कुरा दिमागमा नखेलाउने, चिन्ता नलिने, कामको बोझलाई सहज पार्ने गर्नुपर्छ । जसले गर्दा बिस्तारै निद्राको समस्या समाधान गर्न सकिन्छ । समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । सुत्ने कोठाको वातावरण शान्त हुनु आवश्यक छ । 
  •  शारीरिक रूपमा स्वस्थ रहनुपर्छ । रक्सी तथा लागुऔषधको प्रयोग गर्नुहुँदैन । 
  •  सकेसम्म निद्रा लाग्ने औषधिको सेवनबाट बच्नुपर्छ । नियमित बर्बराउने, उठेर हिँड्ने, झस्किने भएमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।




  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ३:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया