बजेट सक्नकै लागि जनप्रतिनिधि र कर्मचारी अन्तरजिल्ला भ्रमणमा

दैलेख जिल्लाको नारायण नगरपालिका १ का जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा गएका छन् । 

देशमा आर्थिक संकट गहिरिँदै गएको भन्दै संघीय सरकारले फजुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको जनप्रतिनिधि र कर्मचारी  बजेट सकाउनकै लागि अन्तरजिल्ला भ्रमणमा निस्केका छन् ।

बाहिरी जिल्लामा यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न नगरपालिका–१ ले आर्थिक वर्ष ०७८–०७९ विनियोजन गरेको पाँच लाख बजेट सकाउन नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लसहित अन्य कर्मचारी र जनप्रतिनिधिहरू लामबद्ध भएर भ्रमणमा निस्केका हुन् ।

आर्थिक वर्ष सकिनै लाग्दा यहाँ आएको विकासे बजेट कार्यान्वयनतर्फ ध्यान दिनुभन्दा जनप्रतिनिधि र कर्मचारी लामबद्ध भएर भ्रमणमा निस्कनु पाँच लाख सकाउनबाहेक अन्य कुनै उद्देश्य नरहेको स्थानीय दीपक श्रेष्ठले बताए ।

उनले भने, ‘यहाँका गरिब जनता औषधि नपाएर उपचारविहीन हुनु परेको छ, पाँच लाख भ्रमणमा सकाउनुभन्दा गरिबको उपचार र यहाँको विकासमा खर्च गरेको भए हुन्थ्यो, गाउँका सरकारले जनताका समस्या भन्दा पनि आफ्नो मस्तीमा ध्यान दिएको देखियो ।’

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले संघीय सरकारले आर्थिक मितव्ययिताको नीति ल्याएका बेला फजुल खर्चका लागि भ्रमणलगायत आवश्यकताहीन कामहरू गरिनु गलत भएको बताए।



‘भ्रमणले जिल्लालाई के फाइदा हुन्छ ? भ्रमणको उद्देश्य के हो सरकारको नीतिविपरीत कोही पनि जान पाइँदैन’, उनले भने।

कर्मचारी भ्रमणमा जाँदा प्रशासनलाई जानकारी गराउनुपर्ने भए पनि को, कहाँ, कसरी भ्रमणमा गए आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले प्रशासनलाई कुनै पनि जानकारी गराउनु नपर्ने बताए। ‘हाम्रो हाकिम भनेको नगर प्रमुख हो, मैले भ्रमणमा निस्कने कुरा नगर प्रमुखलाई जानकारी गराएको छु, प्रशासनलाई पर्दैन’, मल्लले भने।

वडा नम्बर १ का वडा अध्यक्ष सन्देश श्रेष्ठले भ्रमण बजेट वडा कार्यालयको नभई नगरपालिकाको भएको बताएका छन्। उनले नगरको पाँच लाख बजेटबाट नयाँ केही सक्नका लागि भ्रमणमा निस्केको बताए। ‘अन्य कुरा जानकारी छैन, विस्तृत जानकारीका लागि वडा सचिवलाई बुझ्नुपर्छ’, वडा अध्यक्ष श्रेष्ठले भने । वडासचिव गोपाल श्रेष्ठ​ भने सम्पर्कमा आएनन् ।

भ्रमण बजेट वडा कार्यालय वा नगरपालिकाको भन्ने विषयमा कुरा बाझिएको छ, भ्रमणमा रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले वडाको बजेट भएको बताए। वडा अध्यक्ष सन्देश श्रेष्ठले भने नगरको बजेट रहेको बताए। वडा नं १ का तत्कालीन वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचारका लागि अन्तर जिल्ला भ्रमणका गर्न बजेटको व्यवस्थापन गरेको बताए ।

‘अन्तर जिल्ला भ्रमणका लागि पाँच लाख बजेटको थियो, भ्रमणमा जाँदा यहाँका धार्मिक ऐतिहासिक सम्पदा, कला संस्कृतिको पोस्टर, फोटोलगायत सामग्री लिएर जाने भन्ने योजना थियो, नयाँ आएका जनप्रतिनिधिले के कसरी कार्यक्रम बनाएर भ्रमणमा निस्किए थाहा भएन’, श्रेष्ठले भने।

यता, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले पूर्वनिर्धारित कार्यक्रम भएकाले रोक्न नसकिएको बताए। उनले हाकिमलाई बिदा स्वीकृति नदिएको बताए। ‘हाकिमलाई बिदा स्वीकृति गरिएको हैन, मिल्दैन पनि, उहाँ जाँदा जानकारी गराउनुभएको हो ।’

  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार २१:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया