काठमाडौंमा फोहोर समस्या दोहोरिन नदिन के गर्ने ? यस्ता छन् गगन थापाका ६ सुझाव

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले काठमाडौंमा फेरि फोहोर व्यवस्थापनको समस्या दोहोरिन नदिन तत्काल केही काम गर्नुपर्ने बताएका छन् । काठमाडौंको फोहोर उठ्न थालेकोमा मेयर बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पहलकदमी प्रशंसा गर्दै उनले फेरि संकट आउन नदिन तत्काल ६ काम थाल्नुपर्ने बताएका हुन् ।  

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले सबैभन्दा पहिले सिसडोल–बन्चरेडाँडाका स्थानीयसँगको सम्झौता अक्षरश पालना र तोकिएकै समयभित्र कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ‘शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल–बन्चरेडाँडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५ औं सम्झौता हो । हरेक पटक सङ्कट परेपछि यस्तो सम्झौता हुन्छ । तर, कार्यान्वयन हुँदैन । त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ,’ थापाले फेसबुकमार्फत भनेका छन्, ‘यो स्वभाविक संशयलाई योपटक सम्झौता अक्षरश र भनेकै समयसीमाभित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ ।’  

काठमाडौंको फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको निरन्तर  तदारुकता आवश्यक रहेको उल्लेख गर्दै उनले यस विषयमा प्रधानमन्त्री कार्यालयको पनि पहलकदमी आवश्यक रहेको पनि बताएका छन् ।

‘संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यसपटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालयको निरन्तर  तदारुकता जरुरी छ । सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ,’ थापाले भनेका छन्, ‘खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्ग्याउनुपर्छ । कानुन बमोजिम तोकिएपछि मनासिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ ।’ 

उनले सिसडोल–बन्चरेडाँडाका स्थानीयको माग पूरा गर्नका लागि काठमाडौं, धादिङ र नुवाकोटका सांसदले नियमित अनुगमन र कार्यान्वयनका लागि सम्बन्धित निकायलाई खबरदारी गर्नुपर्ने पनि बताएका छन् । 

‘संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरणसमेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौं । यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ । कहीँ अप्ठ्यारो परेमा सहजीकरण गर्ने छौँ । काम नगर्ने निकायलाई झक्कझकाएर काम गर्न बाध्य बनाउने छौँ । समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ,’ थापाले उल्लेख गरेका छन् । 



साथै, उनले प्रभावित क्षेत्रको लागि गर्ने भनिएका काम काठमाडौं महानगरपालिका निर्धारित समयमा पूरा गर्नेमा विश्वस्त रहेको पनि बताएका छन् । उनले महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले काठमाडौं महानगरलाई साथ दिनुपर्नेमा पनि जोड दिएका छन् ।

थापाले फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि काठमाडौं महानगरपालिकासँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले महानगरपालिकाले १ साउनदेखि स्रोतमै छुट्याएको फोहोर मात्र संकलन गर्ने भनेर बनाएको नियम पालना गर्नुपर्ने र यो अभियानलाई सार्थ बनाउन सबै वडाले नागरिकलाई सु–सूचित गर्नुपर्ने पनि सुझाव दिएका छन् ।



‘कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ । सम्पूर्ण महानगरवासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ । कामनपाका सबै वडाहरूले किन्तु परन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो वडाभित्र  नगरवासीलाई सु–सूचित गर्ने लगायत को सम्पूर्ण तयारी गर्नुपर्छ,’ थापाले भनेका छन्, ‘यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ–आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरि १७६ औंपटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन । काठमाडौ फोहोरको संकटबाट मुक्त हुन्छ ।’  

यो पनि– मध्यरातमा भयो काठमाडौंको फोहोर उठ्ने १८ बुँदे सहमति, शुक्रबारबाटै फोहोर उठ्ने

  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ८:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया