हत्यामा संलग्नलाई पक्राउ माग गर्दै दोस्रो दिन पनि चक्काजाम

जितपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको ३३ दिन पूरा भए पनि प्रहरीले अहिलेसम्म दोषीहरू पत्ता लगाउन सकेको भन्दै बुधबारबाट लगातार राजमार्ग बन्द छ ।

लामो समयसम्म पनि दोषी पत्ता नलागेपछि आक्रोशित बनेका स्थानीयले बुधबार बिहानबाट जितपुरस्थित त्रिभुवन राजपथमा चक्काजाम गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारसहित स्थानीयले जितपुरसिमरा–७ जितपुरस्थित दुर्गा मन्दिरअगाडि मुख्य सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्य तथ्यबाहिर ल्याउन र दोषी पत्ता लगाएर कडाभन्दा कडा सजायको माग गर्दै स्थानीयसहित मृतकका आफन्तहरू सडकमा उत्रिनुपरेको मृतक पौडेलका माइला दाइ राजेशभक्त पौडेलले बताए ।

मृतक पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि २० जेठ बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सिमानामा पर्ने शिव मन्दिरको अगाडि सडकको छेउमा मृतक पौडेलको पर्स बेवारिसे अवस्थामा भेटिएको थियो । पर्स भेला परेपछि घटनाको अनुसन्धानमा थप मद्दत पुगेको भए पनि प्रहरीले अहिलेसम्म हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन ।

गत २२ वैशाखमा मध्यरातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोटपटक लागेको मृतकका जेठो दाइ केदारभक्त पौडेलले बताए । 

घटनाको ९औँ दिनमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले उनकै बयानको आधारमा थप पाँचजनालाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अन्य सातजनालाई पनि पक्राउ गरेको थियो । 



उता, प्रहरीले जितपुरसिमरा उपहमानगरपालिका वडा नम्बर ६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, चित्रबहादुरका भतिज वडा नम्बर ३ का खगेन्द्र थापा, उनकै ज्वाइँ सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दीप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदीप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यसअघि मृतकका परिवारले हत्या सुनियोजित ढंगले भएको भन्दै निष्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा त्रिभुवन राजपथमा चक्काजाम र प्रदर्शन गरेका थिए । 



  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १५:४८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया