सरकारप्रति सत्तारुढ दलका सांसद नै रुष्ट

सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशीला चापागाईं र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले जनताले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् । 

उनीहरुले अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महँगीले जनता मारमा पर्दा पनि राहत दिने तयारीसमेत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेको हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद गौतमले असार १५ बित्न लाग्दासमेत मलको अझै व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे । महँगीको मारमा परेका जनतामा निराशा छाउन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ सचेत रहन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशीला चापागाईंले आपत्ति जनाइन् । गत माघ महिनादेखि जनताका सरोकारका योजनामा बजेट हाल्नका लागि अर्थमन्त्री जनार्दन शर्मासँगै कुरा गरेको उल्लेख गर्दै उनले त्यहाँ किन बजेट नपारेको हो, जनतालाई तत्काल जवाफ दिन सरकारसँग माग गरिन् । 

अर्को सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सो जलविद्युत् आयोजना नेपाली लगानीमै सम्पन्न गर्ने गरी अघि बढाउन पनि उनले सरकारलाई दबाब दिइन् । 

सांसद बिसुन्केले नेपालको जलविद्युत् निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्ने सो आयोजनाको काम अघि बढाउन किन विलम्ब गर्नुपरेको ? भनी सरकारसँग प्रश्नसमेत गरिन् । 





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १७:५२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया