रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा थपियो अर्को उजुरी

पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ । बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोसाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी दिएका हुन् ।

‘स्वतन्त्र’ शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ,’ उजुरीमा भनिएको छ, ‘स्वतन्त्र’ शब्दको अर्थकै अपव्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौं।’

लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसअघि स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो । 

अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह संस्थालाई गम्भीर आघात पुगेको उल्लेख गरेका थिए । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १४:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया