अमेरिकामा गर्भपतन : सर्वोच्चको फैसलापछि पक्ष/विपक्षमा प्रदर्शन, क्लिनिक बन्द

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई वैधानिकता दिने पाँच दशक पुरानो निर्णय खारेज गरेपछि देशका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । अदालतले शनिबार ५० वर्ष पुरानो निर्णयलाई उल्टाएर गर्भपतनलाई कानुनी मान्यता दिएपछि अमेरिकामा ठाउँठाउँमा प्रदर्शन भइरहेको हो । 

सर्वोच्चको यो फैसलापछि अमेरिकाका विभिन्न राज्यले महिलाका लागि गर्भपतनको अधिकार वैधानिक हुने/नहुने सम्बन्धमा आ–आफ्नो नियम बनाउन पाउनेछन् ।

अमेरिकाका आधाभन्दा बढी राज्यले गर्भपतनसम्बन्धी नयाँ प्रतिबन्धहरू लागू गर्न सक्ने अनुमान गरिएको छ । हालसम्म अमेरिकामा १३ राज्यले गर्भपतनलाई गैरकानुनी बनाउने कानुन पारित गरिसकेका छन् । अब सर्वोच्च अदालतको फैसलापछि कानुन लागू हुनेछन् ।

संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसलालाई ‘ठूलो गल्ती’ भनेका छन् ।

सर्वोच्चको फैसलापछि अमेरिकाका केही राज्यमा सञ्चालित गर्भपतन क्लिनिक बन्द हुन थालेका छन् । सर्वोच्चको फैसलाको प्रत्यक्ष असर अर्कान्सास राज्यको लिटिल रकमा रहेको गर्भपतन क्लिनिकमा पनि परेको छ ।  

अदालतले आफ्नो निर्णय अनलाइन पोस्ट गर्नेबित्तिकै गर्भपतनका लागि क्लिनिकको ढोका बन्द गरिएका छन् । क्लिनिकका कर्मचारीले फोन गरेर महिलालाई अदालतको फैसलापछि आफ्नो अप्वाइन्टमेन्ट रद्द भएको जानकारी पनि दिन थालेका छन् ।



एशले हन्ट एक नर्स हुन् । उनले बिबिसीसँगको कुराकानीमा भनेकी छन्, ‘कहिलेकाहीँ हामी निकै नराम्रो समाचार सुन्न तयार हुन्छौँ । तर अन्त्यमा जब त्यो खबर हाम्रो टाउकोमा पुग्छ, त्यसको पीडा निकै ठूलो हुन्छ । यो निर्णयपछि महिलाहरूलाई बोलाएर रो भर्सस वेडको फैसला उल्टिएको छ भनी बताउन साँच्चै हृदयविदारक अनुभव हो ।’ 

क्लिनिक बाहिर गर्भपतनविरोधी प्रदर्शनकारीहरूले भने हर्षोल्लास गरिरहेका थिए । त्यसक्रममा अदालतको थाहा नपाएका मानिसलाई एक प्रदर्शनकारीले चेतावनी दिए, ‘तिमी निगरानीमा छौ । मेरो सुझावमा तिमी यहाँबाट फर्किएर गइहाल। यो पापी ठाउँ, असमानताको ठाउँ र खराब ठाउँमा नबस ।’ 



गरिब महिलालाई कठिन

अर्कान्सास जस्तै लुइसियाना राज्यमा पनि अदालतको फैसलाको प्रभाव परेको छ । यो निर्णय सार्वजनिक भएपछि राज्यका तीनवटा गर्भपतन केन्द्रमध्यको महिला स्वास्थ्य सेवा केन्द्र तत्काल बन्द गर्दै त्यहाँ कार्यरत कर्मचारीलाई घर जान भनिएको छ । 

क्लिनिक बाहिर उभिएकी लिन्डा कोचरले धनी महिलालाई कुनै समस्या नहुने पनि गरिबलाई निकै समस्या हुने बताइन् । ‘धनीहरू गर्भपतनका लागि अन्य राज्यमा जानेछन् । तर, त्यसको मार गरिब महिलाले भोग्नुपर्नेछ,’ उनले भनिन् । गर्भपतन विरोधी अभियानमा संलग्न पादरी बिल साङक्सले यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्ने बताए । 

एक अध्ययनका अनुसार सर्वोच्च अदालतको फैसलाले अमेरिकामा प्रजनन गर्नसक्ने उमेरका ३ करोड ६० लाख महिलालाई आफ्नो राज्यमा गर्भपतनको पहुँचबाट बञ्चित हुनेछन् । यो तथ्याङ्क स्वास्थ्य सेवा संस्था प्लान्ड पेरेन्टहुडले सार्वजनिक गरेको हो । अदालतको निर्णयपछि अहिले अमेरिकाको ५० भन्दा बढी सहरमा विरोध प्रदर्शन भइरहेको छ ।

अमेरिकामा लामो समयदेखि गर्भपतन विरोधी कानुनको बहस भइरहेको छ । भर्खरैको एक सर्वेक्षणका अनुसार करिब ६१ प्रतिशत वयस्कहरूले गर्भपतन पूर्णरूपमा कानुनी हुनुपर्ने मत व्यक्त गरेका छन् । जबकि ३७ प्रतिशतले यस्तो हुन नहुने बताएका छन् । गर्भपतन विरोधी अधिवक्ता टेरे हार्डिङ भन्छन्, ‘ हरेक जीवनलाई सुरक्षित गर्न आवश्यक छ ।’ 

राष्ट्रपति जो बाइडेनले भने सर्वोच्च अदालतको निर्णयको निन्दा गरेका छन् । उनले आफ्नो सम्बोधनमा भनेका छन्, ‘यो निर्णयले महिलाको स्वास्थ्य र जीवनलाई जोखिममा पारेको छ । निर्णयले विचारधाराको कट्टरता झल्काउँछ र सर्वोच्च अदालतको यो निर्णय धेरै दुःखद छ ।’ 

अदालतको निर्णयपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्विटरमार्फत आफ्नो विचार व्यक्त गरेका छन् । ‘अमेरिकाका लाखौं महिलाहरू ५० वर्षदेखि आफ्ना आमा र हजुरआमाले पाएको स्वास्थ्य सेवा र प्रजनन स्वास्थ्य सेवाको पहुँचबिना नै आज राति सुत्नेछन् । अमेरिकाका जनताबाट संवैधानिक अधिकार खोसिएको छ ।’

यसैबीच, ‘रो भर्सस वेड’ फैसलाको लामो समयदेखि विपक्षी रहेका पूर्वउपराष्ट्रपति माइक पेन्सले प्रत्येक राज्यमा जीवनको पवित्रतालाई स्वीकार नगरेसम्म गर्भपतन विरोधी अभियानमा संलग्नलाई नरोक्न आग्रह गरेका छन् । 

अमेरिकामा गर्भपतनको विषयमा किन विवाद? 

सन् १९७१ मा अमेरिकामा गर्भपतन गराउन असफल भएकी एक महिलाको तर्फबाट सर्वोच्च अदालतमा याचिका दायर गरिएको थियो । यसलाई ‘रो भर्सस वेड’ केस भनिन्थ्यो । गर्भपतन र गर्भपतनको निर्णय सरकारको नभई महिलाको हुनुपर्छ भनिएको छ । 

दुई वर्षपछि सन् १९७३ मा अदालतले गर्भपतनलाई वैधानिक घोषणा गर्दै संविधानले गर्भवती महिलालाई निर्णय गर्ने अधिकार दिएको बताएको थियो । यसपछि अस्पतालहरू महिलालाई गर्भपतनको सुविधा उपलब्ध गराउन बाध्य भए ।  

यो निर्णयले अमेरिकी महिलालाई गर्भावस्थाको पहिलो तीन महिनामा गर्भपतन गराउने कानुनी अधिकार दिएको छ । तर, दोस्रो त्रैमासिक अर्थात् चौथो महिनादेखि छैठौं महिनासम्म गर्भपतन गर्न भने प्रतिबन्ध लगाइएको थियो । तर, यो अमेरिकाका धार्मिक समूहहरूका लागि ठूलो समस्या थियो । किनभने उनीहरूले भ्रूणलाई बाँच्ने अधिकार छ भन्ने विश्वास गर्थे ।

यस विषयमा डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीका विचार फरक–फरक छन् । १९८० सम्म यो मुद्दा ध्रुवीकरणको कारण हुन थाल्यो । त्यसपछि केही राज्यले गर्भपतनमा प्रतिबन्ध लगाउने नियम लागू गरे, केहीले महिलालाई यो अधिकार दिन थाले । –बिबिसी

  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ११:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया