ललितपुरमा ट्राफिक प्रहरीबाट कुटिए चिकित्सक

ललितपुरमा ट्राफिक प्रहरीको कुटाइबाट एक जना चिकित्सक घाइते भएका छन् । पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत चिकित्सक कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले निर्घात कुटपिट गरेका हुन् । 

पीडितका आफन्तका अनुसार डा. घिसिङको मुखमा गम्भीर चोट लागेको छ । उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।

कुसुन्तीका डा. घिसिङ आइतबार राति पौने ९ बजे ड्युटी सकेर एक्लै पैदल घर फर्किरहेका थिए । ट्राफिक प्रहरी जवान थापाले किन ठोक्किँदै हिँडिरहेको भनेपछि विवाद भएको थियो । त्यसपछि ट्राफिक जवान थापाले ठूलठूलो कुरा गर्ने भन्दै मुखमा हिर्काएको घिसिङले बताए ।

कुटाइबाट उनकाे नाक फ्याक्चर भएकाे छ । अस्पतालका चिकित्सकका अनुसार घिसिङको अहिले उपचार जारी छ ।

यता, डा. घिसिङले फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै कुटपिट गर्ने थापालाई कारबाहीको माग गरेका छन् । साथै आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गर्दै निवेदन दिएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले चिकित्सकमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको बताएका छन् । ट्राफिक प्रहरी थापामाथि विभागीय कारबाही पनि हुने उनको भनाइ छ ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १५:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया