निरन्तर वर्षाका कारण मेलम्चीवासीको दैनिकी कष्टकर

गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची आसपासका स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ । असारयता निरन्तर वर्षा भइरहँदा अस्थायी रूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुगेको छ । 

सडक अवरुद्ध हुँदा अहिले मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी गाउँपालिका १ र २ र हेलम्बु गाउँपालिका २ र ३ का नागरिकले सास्ती भोगिरहेका छन् । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा अहिले घुमेर धेरै समय लाग्ने गर्छ । 

स्थानीयवासीलाई पुल नहुँदा घुमाउरो बाटोबाट ४५ मिनेटदेखि डेढघण्टा हिँडेर बजार पुग्छन् । सडक पनि हिँड्न सजिलो छैन । हिलो बाटोमा गोडा गाडिएर यात्रा गर्न गाह्रो भएको छ । पाँच पोखरी–१ र २, मेलम्ची–७ र ८ र हेलम्बु गाउँपालिका–१, २, ३ र ४ का नागरिक पहिले खट्टेबाट जाने गरेका थिए । त्यो बगाएपछि अहिले चनौटेबाट यात्रा गर्न परेको छ ।

मेलम्चीका दुई, हेलम्बुका दुई र पाँच पोखरीका दुई वडाका बासिन्दा चनौटे पुलबाट पनि आवतजावत गरिरहेका छन् । तर हेलम्बु–१ र २ का नागरिक हिँडेर जान नसक्ने छ । हेलम्बुमा केही समय पहिले सेनाले चनौटेमा पुल निर्माण गरेको थियो । 

गतवर्ष असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सात वटा पक्की पुल र ११ वटा झोलुंगे पुल बगाएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर आवतजावत तथा यातायात सञ्चालन हुँदै आएको थियो । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने  ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीका कारण २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ३३ वटा सार्वजनिक संरचनामा क्षति पुगेको थियो ।

गत वर्ष क्षतिग्रस्त संरचना बनिनसक्दै पुनः यो वर्ष वर्षाले यहाँका सडक र संरचनामा क्षति पु¥याउन थालेको छ । मेलम्ची हुँदै माथिल्लो भेगसम्म जाने मेलम्ची, दुवाचौर र इन्द्रावती, पाँच पोखरीका स्थानीयवासी प्रभावित हुन थालेका छन् । गत वर्ष घरबारविहीन हुने परिवारमध्ये ३३८ परिवारले आवास निर्माण अनुदानबापतको पहिलो किस्ता रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 



निजी आवास अनुदानतर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा केही रकम पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । स्थानीय तहबाट लाभग्राहीसँग सम्झौता भई आउने क्रम जारी रहेको छ । 



  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १७:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया