माओवादी केन्द्रको उपाध्यक्षमा श्रेष्ठ र महरा, १५६ जनाको पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन

नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्युरो गठन गरेको बताए । उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्युरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए । उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पारे ।

उपाध्यक्ष महराले भने, ‘आज केन्द्रीय समितिको बैठक बस्यो, आजको बैठकमा सबैभन्दा पहिले अध्यक्षले राजनीतिक प्रतिवेदनमा जुन छलफल उठेको थियो, त्यसको जवाफ दिनुभयो । संगठन सम्बन्धी तीन कुरा भए । १२५ जनाको पोलिटब्युरो भयो, वैकल्पिक हुनुहुन्छ । ४१ जनाको स्थायी कमिटी बन्यो । अहिलेलाई १५ जनाको नामावली पेस भएको छ । अहिले २ जना उपाध्यक्ष भएका छन्, नारायणकाजी र कृष्णबहादुर महरा ।’

त्यस्तै, पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्ने बताए । नेता पोखरेलले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरु चयन हुन ढिला भएको बताए ।

उनले भने, ‘अहिले स्थायी समिति ४१ सदस्य हुनेभयो । पोलिटब्युरो १२५ र ३१ जना वैकल्पिक गरेर पोलिटब्युरो बनेको छ । पदाधिकारीको सन्दर्भमा केही दिनभित्रमा अहिलेका कुरालाई टुंग्याइन्छ । सबै कुरामा गृहकार्य र छलफल भएका छन्, केन्द्रीय समितिले पूर्णता पाउन ढिला भएको थियो प्राप्त भयो । विधानको आधारमा पोलिटब्युरो निर्माण गर्नुपर्ने काम थियो त्यो सबै सकेर स्वभाविक ढंगले सम्पन्न भयो । सबै छान्ने जिम्मा अध्यक्ष र पहिलेको स्थायी कमिटीका सदस्यहरुलाई अध्यक्षलाई सहयोग गर्न भनिएको छ ।’

नेता पोखरेलले पार्टी अध्यक्ष दाहाल सबै खालका संघर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले अध्यक्षमा कतिपय कुरा केन्द्रित हुनु स्वभाविक रहेको जिकिर गरे ।
 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १८:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया