वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जरुरी छ : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु जरुरी रहेको बताएका छन् । कैलालीको धनगढीमा प्रेस सङ्गठन नेपालद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने नेपाली श्रमिक विभिन्न बहानामा ठगिँदै आएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागि परेको बताए ।

विदेश जान चाहनेलाई कसरी सुरक्षित गर्ने भन्नेमा पनि ध्यान दिइरहेको उनको भनाइ छ । ‘हामीले बेलायत, जापान सहितका अन्य सुरक्षित गन्तव्यका मुलुक पनि खोजिरहेका छौँ,’ उनले भने,  ‘विदेशबाट सिप सिकेर आएकालाई नेपालमा काम दिन नयाँ नीति बनाएका छौँ, त्यसले पनि स्वदेशमै बस्ने वातावरण बनाउने छ ।’

उनले श्रम सम्झौता नभएका असुरक्षित मुलुकमा नेपाली महिलाहरू भारतको बाटो हुँदै लुकेर गइरहेको बताउँदै त्यसलाई रोक्नका लागि सहयोग गर्न नेपालस्थित भारतीय राजदूतलाई आग्रह गरेको बताए ।

उनले सबै स्थानीय तहमा श्रम डेस्क बनाउन लागेको बताए । ‘डेस्कले को कहाँ गयो भन्ने थाहा हुन्छ,’ उनले भने, ‘भारतमा जानेलाई पनि कसरी सुरक्षित बनाउने भन्नेमा राजदूत सहितका निकायसँग छलफल भइरहेको छ ।’ उनले नेपालका सुनका गहना बनाउने, इँटा भट्टामा काम गर्ने भारतीय मात्रै रहेको चर्चा गर्दै ती क्षेत्रको रोजगारी सम्हाल्न पनि नेपालीलाई सचेत बनाउनु पर्ने बताए ।

सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गरिने र वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने जानकारी दिँदै मन्त्री कुँवरले नेपाली श्रम बजारमा अझैं दक्ष जनशक्ति अभाव रहेकाले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र स्वदेशमै पनि रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । वैदेशिक रोजगारबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्धन गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।  





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १४:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया