विराटनगर महानगरको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सुरु

विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । शनिबार सम्पन्न १०औँ नगरसभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो ।
 
नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले आज एक कार्यक्रमकाबीच शपथ ग्रहण गराइन् । कार्यक्रममा समितिका सदस्य तीर्थेन्द्र न्यौपाने र रुपा देउजालाई संयोजक कार्कीले शपथग्रहण गराएकी हुन् । 

न्यौपाने विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुन् भने देउजा विराटनगर ९ की वडा सदस्य छिन् । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । शपथ ग्रहणपश्चात् उपमेयर कार्कीले न्याय सम्पादनमा निष्पक्ष भूमिका निर्वाह गर्न नवनियुक्त सदस्यहरुलाई आग्रह गरिन् ।
 
उनले न्यायिक समितिमा महानगरवासीले दिएका उजुरीलाई छिटो र छरितो रुपमा सम्पादन गर्दै जाने बताइन् । त्यसैगरी, नवनियुक्त समितिका सदस्य न्यौपानेले विगतको अनुभवलाई समेत आत्मसात् गर्दै निष्पक्ष र तटस्थ ढंगले न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
 
सदस्यहरुको शपथग्रहणसँगै सोमबारदेखि महानगरपालिकाको न्यायिक इजलास पनि सुरु भएको कानुन शाखाकी कानुन अधिकृत शारदा थपलियाले जानकारी दिइन् ।
 
उनका अनुसार हप्तामा दुई दिन सोमबार र बुधबार न्यायिक इजलास सञ्चालन हुनेछ । समितिमा विशेष गरी अंश, जग्गाको सिमाना, छाडा चौपाया, कुटपिट, गालीबेइज्जती, फोहोरमैलालगायत उजुरीहरु बढी दर्ता हुने गरेको छ । 

न्यायिक समितिमा चालू आर्थिक वर्षको हालसम्म २ सय ४ वटा उजुरी दर्ता भएकोमा १ सय ६३ वटा फस्र्यौट भइसकेको कानुन शाखा अधिकृत थपलियाले जानकारी दिइन् ।





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १९:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया