कांग्रेस बैठक : संस्थापनइतर आक्रमक, देउवा रक्षात्मक
फाइल तस्वीर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर रक्षात्मक देखिएका छन् । पार्टी कार्यालय सानेपामा जारी बैठकमा सभापति देउवा रक्षात्मक देखिएका हुन् । 

देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेको बुधबार एक वर्ष पुगेको बेलामा बसिरहेको बैठकमा नेताहरुले सरकारको काम कारबाहीलाई लिएर असन्तुष्टि जनाएका हुन् । पछिल्लो समय महँगी अत्याधिक बढेको छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । यसलाई लिएर कांग्रेस नेताहरुले सभापतिमाथि प्रश्न गरेका हुन् । 

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र अहिलेसम्म देखिने तथा सुनिने गरी काम गर्न नसकेको भन्दै सरकारको आलोचना भएपछि कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले नै जवाफ दिनुपर्ने अवस्था आएको छ । 

बुधबारको बैठकमा महाधिवेशनमा देउवालाई साथ दिएका नेता प्रकाशमान सिंहले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए । उनले चुनाव नजिकिँदै गरेको भन्दै यस्तो अवस्थामा कसरी जनतामाझ जाने भन्दै प्रश्न गरेका थिए । 

त्यस्तै, नेता शेखर कोइराला पक्षले पनि देउवामाथि गठबन्धन गर्न नहुने दबाब बढाइरहेको छ । कोइराला पक्षले कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएर बहुमत ल्याउने गरि लाग्नु पर्ने भन्दै देउवामाथि दबाब दिएका छन् । तर, देउवा रक्षात्मक देखिएका छन् । उनले गठबन्धन नगरे जित निकाल्न नसक्ने भन्दै आश्वस्त पारिरहेका छन् । 

त्यस्तै, सभापति देउवामाथि प्रदेश २ मा कांग्रेस सिध्याउन लागेको आरोप पनि लागेको छ । केन्द्रीय सदस्य मीनाक्षी झाले सभापतिले नै कांग्रेस सिध्याउन लागेको आरोप लगाइन् ।



‘हाम्रो प्रतिस्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ? उनको प्रश्न थियो, ‘तराईमा कांग्रेस चाहिँदैन, सभापतिज्यू ? किन महत्त्व बोकेको जनकपुरमा हामीलाई टिकट दिइएन । जसपालगायत क्षेत्री पार्टीहरूसँग भिड्नु छ, कांग्रेस बनाउन हो कि सिध्याउन ? हामी लगातार बनाउन लागेका छौँ, पार्टीको मूल नेतृत्व सिध्याउन ।’

कोइराला पक्षमाथि देउवा पक्षले गुटगत भेलाको आरोप लगाइरहँदा उक्त पक्षले सोही प्रश्न देउवामाथि नै तेर्स्याएको छ । कोइराला समूहले विगतमा आफूले गरेका भेलालाई कसरी लिनुहुन्छ ? भन्दै प्रश्न गरेको छ ।



सो समूहका नेता अर्जुननरसिंह केसीले जारी केन्द्रीय समितिको बैठकमा भने, ‘ठूलो हलको व्यवस्था होस्, कोठा दिइयोस् । हाम्रो समूहका सबै साथीहरु अट्ने खालको हुनुपर्छ । पार्टी कार्यालयमै छलफल गर्छौं । अहिले समूहको भेलालाई अनौठो मान्ने शेरबहादुरजीले विगत सम्झिने कि नसम्झिने ? हिजो उहाँ प्रतिपक्षमा हुँदा गरेका भेलाबारे के भन्नुहुन्छ ?’

बुधबारको बैठकमा देउवा निकटका केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरेको बारेमा प्रश्न गरेका थिए । उनीहरुले कोइराला समूहका लागि पार्टी कार्यालयमै छुट्टै कोठा उपलब्ध गराउन आग्रह गरेपछि आज कोइराला समूहले यस्तो प्रश्न गरेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा प्रहरीको हतियार खरिद प्रकरणमा पनि रक्षात्मक देखिए । बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका थिए ।

सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको उनको दाबी थियो । ‘हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु,’ देउवाले भने । 

नेताहरुले सरकारमाथि र पार्टी सञ्चालनको विधिमाथि निरन्तर प्रहार गरिरहँदा देउवा रक्षात्मक देखिएका हुन् ।  तर, उनी सजिलै सम्झौता गर्ने नेता भने होइनन् । जसको उदाहरण उनले बैठकमै दिएका छन् । सभापतिको निर्वाचनका बेला एमाले फेरि सत्तामा फर्कने त्रास देखाएका देउवाले एकपटक पुनः पार्टीको सत्तामा तेहेरिनका लागि विधान संशोधन गर्ने धम्की दिए । देउवाले विधान संशोधन गरेर फेरि सभापति उठ्न सक्ने बताए । कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न मिल्दैन। देउवाको यो दोस्रो कार्यकाल हो ।

बैठकमा देउवाले आफूलाई नजिस्क्याउन आग्रह गरेका थिए । ‘फेरि सभापति हुन मलाई रहर छैन, तर तपाईंहरूले जिस्क्याउनुभो भने फेरि उठ्न सक्छु’ देउवाले भनेका थिए । केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टी हार्ने अभिव्यक्ति दिएपछि देउवा क्रुद्ध भएका थिए । 

उनले गठबन्धन नगरी जितेर देखाउन नेताहरुलाई चुनौती दिए । ‘गठबन्धन गर्ने हो। एक्लै बहुमत ल्याउन गाह्रो छ,’ देउवाले भनेका थिए । 

  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १९:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया