नेपाललाई फाइनल पुर्‍याउन नसके राजीनामा दिएर फुटबल नै छाड्छु : प्रशिक्षक केसी

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टिमलाई साफ यू–२० च्याम्पियनसिपको फाइनल पुर्‍याउन नसकेमा जिम्मेवारीबाट अलग हुँदै फुटबल नै छाड्ने बताएका छन् । 

उनले भारतसँग फराकिलो पराजय बेहोरेपछि यस्तो घोषणा गरेका हुन् । भारतमा जारी प्रतियोगितामा अघिल्ला दुई खेलमा माल्दिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले हराएसँगै नेपालले शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गर्ने सम्भावना बलियो पारेको थियो । तर, आइतबार फाइनल प्रवेशका लागि महत्वपूर्ण मानिएको खेलमा नेपाल भारतसँग निरीह बन्यो । नेपालले भारतलाई ८–० को फराकिलो नतिजा सुम्पियो । 

भारतसँगको हारले नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कठिन बनेको छ । तीन खेलमा नौ अंकसहित बंगलादेश शीर्ष स्थानमा छ । समान तीन खेलमा समान ६ अंक जोडेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । समान एक अंकका साथ चौथो स्थानको माल्दिभ्स र पाँचौ स्थानको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

फाइनल प्रवेशका लागि नेपालले लिगको अन्तिम खेलमा मंगलबार बंगलादेशलाई हराएर मात्र पुग्दैन । भारतले माल्दिभ्ससँग हार वा अंक बाँड्नुपर्ने हुन्छ । केसीले नेपाली टोलीको हारमा खेलाडी र एन्फा जिम्मेवार नभएको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । फेसबुकमार्फत केसीले टोलीलाई फाइनल प्रवेश गराउन नसकेमा पदमा नबस्ने जनाएका हुन् ।

‘सबै जनालाई धन्यवाद, टोलीलाई समर्थन गर्नु भएकोमा । खेलाडीहरूमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज हामी सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौँ । यसमा खेलाडी र एन्फालाई दोष नदिऔं, यो मेरो गल्ती हो । मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु, म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाको लागि फुटबल डुबाउन सक्दिनँ, धन्यवाद,’ केसीले लेखेका छन् ।





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १२:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया