नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर​ हुनसक्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे । उनले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए ।

मन्त्री शर्माले हामीसँग भएको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने बताए । उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्थासमेत गरेको दाबी गरे ।

मन्त्री शर्माले भूमिहीनलाई जमिन दिएर, पुँजी नहुनेका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए । उनले कृषिमा जोडे मात्रै मुलुकको अर्थतन्त्र सबलीकरण हुनसक्ने बताए ।

मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताए । उनले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरूले उत्पादनमा जोड दिन आग्रह गरे ।

मन्त्री शर्माले उनले युवादेखि वृद्धासम्म सबैलाई कृषि क्षेत्रको उत्पादनमा सहभागी गराउने पर्ने बताए । काठमाडौंका लागि चाहिने तरकारी काठमाडौं आसपासकै जिल्लाले उत्पादन गर्नुपर्ने बताए । उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए । उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए ।



'काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा ६ महिनामा आत्मनिर्भर हुन सक्छौं । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्नसक्छौँ' उनले भने ।



  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १६:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया