पुष्प र श्रद्धा अभिनित ‘कृष्ण–लीला’ को अस्ट्रेलिया राइट निकेशले किने

‘कृष्ण–लीला’ को अस्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा सर्वत्र चर्चा र चासोमा रहेको फिल्मको राइट अस्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो । 

दीपक ओली निर्देशित फिल्म फस्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहँदै आएको छ । फिल्मका दुई गीत–‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर..अटल वाचा गरें’ हिट भएका छन् । 

फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठले अस्ट्रेलिया राइट महँगो रकममा बिक्री गरिएको जानकारी दिए । ‘रकम नखुलाउ होला,’ उनले भने, ‘अपेक्षाभन्दा बढी मूल्यमा बेचेका छौँ ।’ उनले फिल्मको अन्य देशमा पनि धमाधम बिक्री भइरहेको बताए ।

कृष्ण जन्माष्टमीका दिन अर्थात् ३ भदौमा प्रदर्शनमा आउने फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् । 

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । 

पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसर रमेश तामाङ हुन् । लक्ष्मण सुवेदी लिखित फिल्म शिव ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १९:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया