प्रिमियर लिगको नयाँ सिजन आजबाट, उद्घाटन खेलमा क्रिस्टल र आर्सनलको भिडन्त

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा लण्डनका दुई क्लब क्रिस्टल प्यालेस र आर्सनल आमनेसामने हुँदैछन् ।

खेल नेपाल समयअनुसार राति पौने १ बजे प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा सुरु हुनेछ । दुवै टोली जितका साथ नयाँ सिजनको सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

गत सिजन प्रिमियर लिगको विजेता र रेलिगेशनमा पर्ने टोलीको टुङ्गो अन्तिम दिनमा मात्र लाग्नुले लिगलाई रोमाञ्चक बनाएको थियो । त्यसैले २०२२/२३ को सिजन पनि रोमाञ्चक हुनेमा दुविधा छैन ।  

यसपटक पनि साविक विजेता म्यानचेस्टर सिटी र उपविजेता लिभरपुललाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । उनीहरूले टोलीमा नयाँ स्ट्राइकर थप गरेका छन् । सिटीले इर्लिङ हालान्डलाई अनुबन्ध गर्दा लिभरपुलले भने डार्विन नुनेजलाई भित्र्यायो ।

 त्यस्तै ,चेल्सी र आर्सनलले पनि आफूलाई उपाधि दावेदारको रुपमा प्रस्तुत गर्ने क्रममा सरुवा बजारमा महंगो रकम खर्चिएका थिए । चेल्सीले सिटीका रहिम स्टर्लिङलाई स्टामफोर्ड ब्रिज भित्राउँदा आर्सनलले सिटीका गाब्रियल जिसस र ओलेक्जेन्डर जिचेन्कोलाई अनुबन्ध गर्‍यो । 

यता गत सन् २००८ पछि उपाधि खडेरी तोड्ने लक्ष्यमा रहेको टोटनहमले नयाँ सिजनका लागि रिचार्लिसन, इभान पेरिसिच र याभेस बिसोउमालाई ल्याएको छ । 



म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले जाडोन सान्चो, मार्कुस रासफोर्ड र एन्थोनी मार्सियाललाई ओल्ड ट्राफोर्डमै राख्न सफल भए भने नयाँ सिजनका लागि डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिकसनलाई पनि अनुबन्ध गरे । उसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने क्लबमै रहन्छन् वा रहँदैनन् भन्ने कुनै टुङ्गो लागेको छैन । 

यस्तै, वेस्टह्याम युनाइटेड लगातार तेस्रोपटक युरोपा लिगमा स्थान बनाउने लक्ष्यमा हुनेछ भने न्युक्यासल युनाइटेड पनि स्थान सुधार गर्न चाहन्छ । गत सिजन एभर्टन र लिड्स युनाइटेड मुस्किलले रेलिगेसनबाट बचेका थिए । त्यसैले यी दुवै क्लब यस सिजनको सुरुवातबाटै सुखद नतिजाको अपेक्षामा हुनेछन् ।



सबैको नजर भने २३ वर्ष पछि प्रिमियर लिगमा पुनरागमन गरेको नटिङ्घम फरेस्टले कस्तो प्रदर्शन गर्ला भन्नेमा हुनेछ । उसले यस सिजनका लागि खेलाडी भित्र्याउन कडा मिहिनेत गरेको छ । उसले जेसे लिंगार्डजस्ता खेलाडी अनुबन्ध गर्न सफल भयो ।

एफसी बर्नामाउथ र फुलहमको लक्ष्य पनि शीर्ष डिभिजनको हैसियत जोगाउने हुनेछ । लेस्टर सिटी, ब्राइटन, बेन्टफोर्ड र साउथह्यामटनले पनि लिगमा आफ्नो चुनौती पेस गर्नेछन् ।

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १४:१८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया