भेनेजुएलाका राष्ट्रपतिले गरे अमेरिकासँगको सबै सम्बन्ध अन्त्यको घोषणा, रुसको पनि मादुरोलाई साथ

एजेन्सी– भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकासँगका सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । केही घन्टाअघिमात्र अमेरिकाले भेनेजुएलामा अन्तरिम राष्ट्रपतिका रुपमा विपक्षी नेता खुआन गोइदोलाई मान्यता दिएको थियो । यही कारणले मादुरोले सबै सम्बन्ध तोडेको घोषणा गरेका हुन् । 

मादुरोले अमेरिकी राजदूतलाई भेनेजुएला छोड्न ७२ घन्टे अल्टिमेटम पनि दिएका छन् ।

बुधबार विपक्षी नेता गोइदोले एक विरोध प्रदर्शनीमा आफैंले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए । यो घोषणा आएलगत्तै अमेरिकाले मादुरोसँग अब कुनै अधिकार नभएको र सेनाले गुएदोलाई समर्थन गर्नु पर्ने विचार राखेको थियो ।

तर, सेनाले अहिलेसम्म मादुरोलाई नै समर्थन गरिरहेको छ ।

विपक्षीले मादुरोको नेतृत्वका कारण मुद्रास्फिति, लोडसेडिङ तथा अन्य आधारभूत आवश्यकताको कमी भएको आरोप लगाएका छन् ।

बुधबार हजारौँ मानिसहरुलाई सडमा उतारेर विपक्षी नेता गुइदोले यो विरोध प्रदर्शन भेनेजुएला स्वतन्त्र नभएसम्म जारी राख्ने बताएका थिए ।



उनले देशमा निर्वाचन नभएसम्म आफैं अन्तरिम राष्ट्रपति भएको बताउँदै सेनालाई मादुरोका आदेश नमान्न अनुरोध गरेका थिए ।

मंगलबार र बुधबार भेनेजुएलामा भएको विरोध प्रदर्शनमा १४ जनाको मृत्यु भएको त्यहाँका मिडियाले बताएका छन् ।



अर्कोतिर, अमेरिकाले विपक्षी नेता गोइदोलाई अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमा यसबारे लेखेका छन् ।

अमेरिकालगायत सात दक्षिणी देश– ब्राजिल, कोलम्बिया, चिली, पेरु, इक्वेडर, अर्जेन्टिना, पाराग्वेले गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । क्यानडाले पनि उनलाई राष्ट्रपति मानेको छ ।

तर, मादुरोले अमेरिकाले भेनेजुएलामा अनावश्यक नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । उनले भेनेजुएलाको आर्थिक संकटको कारक पनि अमेरिका भएको आरोप लगाएका छन् ।

उता, खुआन गोइदो यही महिनामात्र संसदमा विपक्षी नेता बनेका हुन् । यसअघि उनी अपरिचित थिए ।

अर्कोतिर, रुसले भेनेजुएलाको विषयमा अमेरिकाले गरेको निर्णयको खण्डन गरेको छ । उसले अहिलेका लागि मादुरो नै भेनेजुएलाका राष्ट्रपति भएको र उनको विरोध गर्नु अन्तर्राष्ट्रिय कानुन विरोधी कदम हुने बताएको छ ।

रुसले यसअघि पनि भेनेजुएलामा अमेरिकाको विपक्षमा अभिव्यक्ति दिँदै आएको थियो । रुसले भेनेजुएलामा अरबौँ डलर लगानी गरेको छ र त्यहाँको सेनासँग संयुक्त सैन्य अभ्यास पनि गर्दै आएको छ ।

  • प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार २३:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया