रिपोर्टर्स क्लबमै महेन्द्र यादव र खगराज अधिकारीबीच चर्काचर्की

रिपोर्टर्स क्लब नेपालमा राजनीतिक दलका नेताहरू साक्षात्कार कार्यक्रममा झगडामा उत्रिएका छन् । ऋषि धमलाको सभापतित्वमा बहस कार्यक्रम चलिरहँदा नेपाली कांग्रेस र नेकपा एमालेsf नेताहरू झगडामा उत्रिएका हुन् । 

४ मंसिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयमा धारणा व्यक्त गर्ने क्रममा नेताहरू वादविवाद गर्न पुगेका हुन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ५ दलीय गठबन्धन र एमालेका विषयमा टीका टिप्पणी गरिरहँदा सञ्चारकर्मीले प्रश्न गरेका थिए । गठबन्धनको औचित्य र एमालेलाई एक्ल्याउनुको कारणबारे प्रश्न गरेपछि यादवले अघिल्लो चुनावमा कांग्रेस एक्लै लडेको र एमालेले माओवादीसँग गठबन्धन गरे जस्तै अहिले आफूहरू ५ दलबीच गठबन्धन गरेर चुनाव लड्न लागेको बताएका थिए । 

त्यसपछि एमालेका नेता खगराज अधिकारी प्रतिवादमा उत्रिएका थिए । कांग्रेसले गठबन्धन नगरी चुनावमा जाने हो भने एक सिट पनि जित्दैन भन्दै अधिकारी जंगिएका थिए । त्यसपछि यादवले निर्वाचन आयोगमा गएर यसअघिको चुनावको मत संख्या हेर्न चुनौती दिए । 

बसेको ठाउँबाट उठेर अधिकारीले भने, 'कांग्रेस र हामी एक्लै चुनाव लडौँ । हामी दुई तिहाईभन्दा बढी ठाउँमा कांग्रेसलाई हराएनौँ भने म राजनीति छोडिदिन्छु ल ।'

यादवले जवाफ फर्काए, 'एक्लै लडेर त दुई सय आयो । हाम्रो कति आयो तीन सय ४८ ।' स्थानीय तहको नतिजाको तथ्यांक प्रस्तुत गरेका यादवले कांग्रेसले जितेको ३ सय २९ लाई ३ सय ४८ भन्न भ्याए । एमालेले जितेको २ सय प्रमुख/अध्यक्ष हो । 



एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै लड्छु भनेर पनि थुप्रै साना दलसँग गठबन्धन गरेको तर आफूहरूको गठबन्धनको आलोचना गरेको यादवले बताए ।
बहस चर्काचर्की भइरहँदा संचारकर्मीले पनि कांग्रेस सिद्धान्त नमिल्ने कम्युनिस्ट दलहरूसँग किन गठबन्धन गर्न गयो भनेर यादवलाई प्रश्न गरेका थिए । 

यादवले पनि कम्युनिस्टहरुको सिद्धान्त छ भने एउटै बनाएर देखाउन चुनौती दिए । उनले अधिकारीलाई देखाउँदै भने, 'दोकान २० वटा खोल्ने । अनि सिद्वान्त एउटै छ भनेर भन्ने ?'



त्यसपछि अधिकारी फेरि बोल्न गए, यादव सिटमा गएर बसे । अनि अधिकारीले एमालेको गुणगान गाउन थाले । ५ दलीय गठबन्धनलाई सिद्धान्तविहीन भन्दै थिए, संचारकर्मीलले प्रश्न गरिहाले–तपाईंहरुको राप्रपासँग सिद्धान्त मिल्छ ?

अधिकारीले जवाफ दिए–सिद्धान्त र नीति मिल्दैन । तर कतिपय कुरा... भनेर मिलाउन खोज्दै थिए । संचारकर्मीले प्रश्न गरिहाले–अनि तालमेल किन गर्नुहुन्छ ? अधिकारीले तालमेल र गठबन्धन फरक कुरा हो भनेर टार्ने प्रयास गरे । 

संचारकर्मीले तालमेल भए पनि गठबन्धन भए पनि चुनाव जित्नै खोजेको त हो नि भन्दै थिए अधिकारी महेन्द्र यादवतर्फ खनिए । 'महेन्द्र यादवका लागि होला थुतुनो चिलाएर होला । सभ्यताका साथ बोल्न जान्नुपर्यो नि' अधिकारीले भने ।

अधिकारीले कांग्रेसमाथि जाने जति आरोप लगाए । फेरि यादव बोल्न आए, अधिकारी सिटमा बसे । अनि अधिकारीले लगाएका आरोपको यादवले खण्डन गर्न थाले । 'एमाले जस्तो दोधारे र झुटो राजनीति हामी गर्दैनौँ' यादवले भने ।

  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १३:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया