काठमाडौं– आफूसँग भएको सम्झौताविपरित संसदमा चिकित्सा शिक्षा विधेयक पेश गरिएको भन्दै अनसनमा बसेका प्राडा. गोविन्द केसीले शुक्रबार संसदमा विधेयक पारित भएपछि नैतिकताका आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग राखेका छन् ।
विधेयक पारित भएलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत् केसीले आफ्नो अनसन जारी रहने बताएका छन् । उनले आफूसँग गरिएको सम्झौता विपरित विधेयक पारित भएको भन्दै प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग गरेका हुन् ।
केसीसँगको सम्झौताअनुरुप नै विधेयक पारित गर्नु पर्ने भन्दै कांग्रेसले शुक्रबार सदनमा अवरोध गरेको थियो । तर, सत्तारुढ दलले यसलाई बेवास्ता गर्दै विधेयक पारित गरियो । यसलाई कांग्रेसले जालझेल र षडयन्त्रको संज्ञा दिएको छ ।
शुक्रबार केसीका तर्फबाट जारी गरिएको विज्ञप्तीमा लेखिएको छ– सरकारले तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजहरुको स्वार्थलाई दिएको पुष्टि भएको छ । आफैंले गरेको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित पधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।