अनुमतिविना सञ्चालनमा रहेका पाँच मन्टेस्वरीलाई कारबाही

वीरेन्द्रनगरमा अनुमतिविना सञ्चालित पाँचवटा मन्टेस्वरी स्कुललाई कक्षा सञ्चालनमा रोक लगाइएको छ । 
 
संस्थागत विद्यालयको अवस्था अध्ययन क्रममा वीरेन्द्रनगर नगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका विद्यालय, ट्युसन सेन्टरलगायत कक्षागत अनुमतिसमेत नभएका शैक्षिक संस्थाको अनुमगन गरिरहेको छ । 

यस क्रममा वीरेन्द्रनगरमा अनुमतिबेगर सञ्चालनमा रहेका पाँचवटा मन्टेस्वरीहरुलाई सञ्चालनमा रोक लगाइएको नगर शिक्षा प्रमुख धीरेन्द्रप्रसाद शर्मा बताउँछन् ।

वीरेन्द्रनगर–६ स्थित ह्याप्पी किण्डर गार्डेन मन्टेस्वरी र सोही वडास्थित पुष्पाञ्जली मन्टेस्वरी अनुमतिबेगर सञ्चालनमा रहेको पाइएपछि नगरले सञ्चालनमा रोक लगाइएको छ । 

यसैगरी, वीरेन्द्रनगर–५ स्थित मर्निङ स्टार मन्टेस्वरी, वीरेन्द्रनगर–८ स्थित ब्राइट फ्युचर मन्टेस्वरी र वीरेन्द्रनगर–७ स्थित किड्स ल्याण्ड मन्टेस्वरीलाई समेत नगरले सञ्चालनमा रोक लगाइएको छ । 

सञ्चालनमा रोक लगाइएका मन्टेस्वरीमध्ये किड्स ल्याण्ड मन्टेस्वरीले वडाबाट भने सञ्चालन अनुमति लिएको छ ।

‘किड्सल्याण्ड मन्टेस्वरीले वडाबाट सञ्चालन अनुमति ल्याएको जनाएको छ । नगरबाट नै अनुमति लिनुपर्नेमा वडाबाट लिइएको अनुमतिले सञ्चालन गर्न मिल्दैन,’ शर्माले भने, ‘सोबारेमा नगरको बैठक बसी हामी निर्णय गर्नेछौँ । बाँकी सञ्चालन अनुमति नलिएका मन्टेस्वरीलाई सञ्चालनमा रोक लगाएका छौँ ।’



यसका साथै अनुमति लिएका, तर कक्षा सञ्चालन नगरेका विद्यालयहरुको समेत अनुगमन तयारी रहेको शर्माले जानकारी दिए । विद्यालय तथा शैक्षिक संस्थाहरुलाई अनुमति लिनका लागि नगरपालिकाले गत वर्ष ०७८ को माघ महिनामै सूचना जारी गरेको थियो । 

शर्माले भने, ‘अनुमति लिनका लागि हामीले गत वर्ष माघमा सूचना जारी गरेका थियौँ । फेरि यो वर्ष जेठमा पनि सूचना जारी भयो । साउन २५ गतेका लागि समेत अन्तिम ताकेता गरेका थियौँ ।’



  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार २०:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया