अन्तर्राष्ट्रिय उडानमा छुट दिने निगमको घोषणा

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौं–बैंकक–काठमाडौं यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्री इन ग्रुप फाइभ’ योजनाअन्तर्गत पाँचजनाको समूहमा टिकट खरिद गर्दा एकजनालाई टिकट निःशुल्क दिने भएको हो । 

आगामी मार्चसम्म यो योजना लागू हुने निगमले जनाएको छ । पर्यटन प्रवर्द्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । 

उनका अनुसार आवश्यकताका आधारमा अन्य गन्तव्यमा पनि यो योजना विस्तार गरने लक्ष्य छ । ‘अहिले बैंकक क्षेत्रमा कम व्यापार हुने भएकाले व्यापार बढाउने नै मुख्य उद्देश्य हो, यो समयमा उक्त क्षेत्रबाट कम पर्यटक आउने भएकाले पनि यस्तो योजना ल्याएका हौँ, अन्य गन्तव्यमा पनि लैजाने योजना छ,’ उनले भने ।  

काठमाडौं–बैंकक उडानका लागि टिकटमा हरेक यात्रुले करबाहेक १२ हजार तिर्नुपर्छ । निगमले यो गन्तव्यमा सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ । निगमले अहिले विभिन्न आठ गन्तव्यमा भारतको नयाँदिल्ली, बैंगलोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा सीधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । 

निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइडबडी ए–३३० जहाज, दुई न्यारोबडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् । 





  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १७:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया