नागरिकता विधेयकलाई राष्ट्रघाति भन्नु गलत : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रघात भन्नु गलत हुने बताएका छन् । उनले नागरिकता विधेयकलाई गलत ढंग र उद्देश्यले प्रचार गरिएको बताए । 

गृहजिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आमाबुबा नेपाली नै भएर पनि छोराछोरीले नागरिकता नपाएर अवसरबाट वञ्चित हुने स्थितिलाई अन्त्य गर्न नागरिकता विधेयक ल्याइएको उल्लेख गरे ।
 
‘आमाबुबा दुवै नेपालका नागरिक भएका छोराछोरीले नागरिकता पाउने मात्रै हो, अहिलेको विधेयकको । आमाबुबा पहिले नेपाली छन् । उनका छोराछोरीले नागरिकता नपाएर झण्डै ६/७ लाख मान्छेहरू सबै अवसरबाट बञ्चित हुने स्थिति भयो । त्यो स्थितिको अन्त्य गर्ने विधेयक हो । त्यसकारणले राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन,’ प्रचण्डले भने ।

उनले केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशमा रोकिएको यही विधेयक रहेको जिकिर गरे । विधेयक संसदमा अहिले ल्याउँदा राष्ट्रघाती भन्नु बेइमानी रहेको प्रचण्डको भनाइ छ ।  

‘एउटा त यो त्यही विधेयक हो केपी ओली पनि प्रधानमन्त्री हुँदा अध्यादेशमा रोकिएको थियो । यही विधेयक । त्यसकारण पनि, जसले यही विधेयक अध्यादेशको रूपमा पोहोर साल लगेका थिए, तिनीहरूले यही विधेयक संसदमा ल्याउँदा राष्ट्रघाती भन्नुभन्दा बेइमानी अनैतिकता अरू केही हुनै सक्दैन,’ प्रचण्डले भने ।

उनले राज्य व्यवस्था समितिबाट पारित भएको वर्षे वैवाहिक अङ्कीकृतको प्रस्ताव सदनमा लैजाऔंभन्दा नमान्ने केपी ओली र एमाले गुट नै रहेको आरोप लगाए । यसैबीच, प्रचण्डले चितवनको माडी नगरपालिकाअन्तर्गत बरुवाबजार भैरवपुर पर्साचोक बैदार चिन्द्रेनी अजिंगरे सहिदपुर गंगटे सडक शिलान्यास गरेका छन् । 

त्यस्तै, माडी नगरपालिका हुलाकी सडकअन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन र माडी ठोरी सडकखण्डको स्तरोन्नतीको शिलान्यास गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १०:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया