कैलालीमा डेंगुको संक्रमणबाट १२ वर्षीया बालिकाको मृत्यु
दिनहुँ डेंगु संक्रमित बढ्दै, नियन्त्रणका लागि छैन तयारी

कैलालीमा डेंगुको संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो । बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । 

यसअघि धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि डेंगुका कारण मृत्यु भएको थियो । शाहीको उपचारको क्रममा गत मंगलबार बिहान मृत्यु भएको थियो । पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप बढ्दै गएको छ । कैलालीलगायत सुदूरपश्चिमका अन्य जिल्लामा पनि डेंगुका बिरामी बढ्दै गएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाका अनुसार सुदूरपश्चिममा २०२२ सुरुदेखि सेप्टेम्बर ७ सम्ममा  १६५ जनामा डेंगु भएको पुष्टि भएको छ । जसमध्ये कैलालीमा ४१, कञ्चनपुरमा ३२, अछाममा सात, डोटीमा १४, डडेल्धुरामा र बैतडीमा ९/९ जना डेंगुका बिरामी फेला परेका छन् । यस्तै, दार्चुलामा ३३ , बझाङ र बाजुरामा आठ/आठ जना डेंगुका बिरामी फेला परेका छन् ।   

स्वास्थ्यकर्मीका अनुसार मनिसमा एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरका अनुसार डेंगु संक्रमणपछि ज्वरो आउने, हाडजोर्नीहरू दुख्ने, रगतको मात्रा कम हुने र टाउको दुख्ने जस्ता समस्या देखा पर्ने गर्छन् ।  

‘यो एउटा एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अरूलाई टोक्दा यो रोग सर्दछ’, डा. कमरले भने, ‘डेंगुबाट बच्न लामखुट्टेको वृद्धि हुने ठाउँ, जस्तै फुटेको टायर, गमला, टुटे फुटेका भाँडाकुँडा र खाल्डाखुल्टीमा पानी जम्न दिनु हुँदैन । राति सुत्दा झुलको मात्र प्रयोग गरेर सुत्नुपर्छ । कसैमा यसको लक्षण देखा परे तुरुन्त अस्पताल लग्ने जस्ता सावधानी अपनाउनु पर्छ ।’

अहिले सेती अस्पतालमा दिनमा एक/दुई जनामा डेंगुको लक्षण देखिन थालेको उनको भनाइ छ । प्रदेशमा डेंगु संक्रमितको संख्या बढे पनि सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी गणेशबहादुर सिंह भने अहिलेसम्म डेंगु नियन्त्रणमा कुनै पनि कदम नचालिएको बताउँछन् ।



उनले प्रदेशमा यकिन तथ्याङ्क नहुँदा कुनै पनि तयारी गर्न नसकिएको र अब प्रदेशमा डेंगुको तथ्याङ्क हेरेर प्रदेश सरकार यसको नियन्त्रणमा लाग्ने बताए  । ‘अहिलेसम्म हाम्रो प्रदेशमा के कति डेंगुका सङ्क्रमित छन्, त्यसको यकिन तथ्याङ्क छैन । हामी पनि यसको खोजीमा छौँ । अब प्रदेशमा डेंगुको तथ्याङ्कको आधारमा यसको नियन्त्रणमा जुट्छौँ’, उनले भने ।



  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १६:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया