नेकपा (माओवादी केन्द्र) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका सांसद नदोहोर्याउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारीको बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरू समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्याउने निर्णय गरेको हो ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई समानुपातिकका प्राथमिकता नदिने र बन्दसूची पेस गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेको हुनुपर्ने पदाधिकारी बैठकको निष्कर्ष छ ।
बैठकले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्न सम्बन्धित प्रदेशले बिहीबारभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सूची पेस गर्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकमा अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको थियो। बैठकले समिति प्रमुखको उपस्थितिमा थप छलफल गरी अन्तर्घातमा संलग्नलाई आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।