कर्णालीका आठ हजार बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक

कर्णाली प्रदेशमा अपांगता भएका झण्डै आठ हजार बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको पाइएको छ । 

अपांगताका क्षेत्रमा कार्यरत विकलांग मित्र समूह, अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका अनुसार प्रदेशभर त्यस्तो सेवा चाहिने बालबालिकाको संख्या सात हजार आठ सय ४२ रहेको छ । 

केन्द्रका संयोजक नित्रबहादुर देउजाले पछिल्लो जनगणनाले कर्णालीमा आठ हजार तीन सय सात जना शारीरिक अपांगता भएका बालबालिका रहेको देखिएको बताए । त्यसमध्ये एक हजार आठ सय ७७ जना बालबालिका उपचाररत छन् भने चार सय ६५ जनाले उपचार पूरा गरेका छन् ।

प्रदेशमा सबैभन्दा बढी सुर्खेतका एक हजार ६ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको बताइएको छ । त्यस्तै, दैलेखमा एक हजार तीन सय ३४ जना, सल्यानमा एक हजार दुई सय २० जना, जाजरकोटमा आठ सय आठ जना, कालीकोटमा सात सय १० जना र रूकुम–पश्चिममा सात सय ९८ जनाको उपचारलगायतका पुनर्स्थापना सेवाको जरुरी छ । 

जुम्लामा पाँच सय पाँचजना, मुगुमा दुई सय ८० जना, डोल्पामा एक सय ९२ जना र हुम्लामा दुई सय ६२ जना अपांगता भएका बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको जनाइएको छ । 

केन्द्रका संयोजक देउजाले कर्णालीमा अझै पनि अपांगता भएका सबै बालबालिकाको पहिचान भने हुन नसकेको बताए ।



कर्णालीमा पुनर्स्थापना सेवा आवश्यक रहेका बालबालिकाको संख्या ठूलो देखिएपछि यहाँ पनि अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र स्थापनाको तयारी गरिएको छ । 

विकलांग मित्र समूहले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय अपांगता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र स्थापनाको तयारी थालेको हो । विकलांग मित्र समूहले अपांगता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा विगत ३८ वर्षदेखि सञ्चालन गर्दै आएको छ । 



आफ्नो सेवालाई विस्तार गर्ने उद्देश्यले कर्णाली प्रदेशमा पनि अपांगता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको स्थापना गर्न लागिएको हो । अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाले सोही विषयमा जानकारी दिन बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा पुनर्स्थापना केन्द्र स्थापना गर्न लागिएको केन्द्रका संयोजक देउजाले जनाए ।

वीरेन्द्रनगरमा आधारभूत सेवाहरू उपलब्ध गराउने गरी असोजबाट केन्द्र स्थापना गरिनेछ । तत्काल पुनर्स्थापनाका प्राथमिक सेवाहरू उपलब्ध गराइने र यसलाई विस्तारै अस्पतालको रूपमा विकास गरिने योजना रहेको बताइएको छ । वीरेन्द्रनगर–१ चनाबारीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनमा नै पुनर्स्थापना केन्द्र स्थापना गरिने भएको छ । 

त्यसका लागि वडा कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका पाँचवटा कोठा पुनर्स्थापना केन्द्रका लागि उपलब्ध गराउने निर्णय गरिएको छ । कर्णालीमा अपांगता भएका बालबालिकाले सहज रूपमा उपचारको पहुँचमा पुर्याउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको देउजाले बताए । 

कर्णालीमा अझै पनि अपांगता भएका व्यक्तिहरूले सहज रूपमा उपचार पाउन सकेका छैनन् । पुनर्स्थापना केन्द्रको स्थापना भएपछि अपांगता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवाहरू उपलब्ध हुने बताइएको छ । 

  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार २१:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया